उत्पादन कम भएसँगै महंगियो कुखुराको मासु



काठमाडौं । दशैं र तिहारको समयमा सस्तिएको ब्रोइलर कुखुराको मासु जाडो मौसममा मूल्य वृद्धि भएको छ । कोरोना महामारीले गर्दा अधिकांश होटल तथा व्यवसाय बन्द भएसँगै कुखुराको मासुको खपत कम भएको र उत्पादन धेरै भएकाले उक्त समयमा कुखुराको मासुको मूल्य निकै सस्तिएको व्यवसायीहरूको भनाइ थियो ।

अहिले कोरोना संक्रमण तीब्र रुपमा बढेता पनि अधिकांश व्यवसाय सञ्चालन अवस्थामा छन् । साथै, कुखुराको मूल्य पनि ह्वात्तै बढेको छ । त्यस्तै, हाल चिसो मौसमको समयमा कुखुराको उत्पादन निकै कम हुने भएकाले मासुको मूल्य ह्वात्तै बढेको नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेल बताउँछन् ।

उनका अनुसार गत असोज कात्तिकमा ब्रोइलर उत्पादन गर्ने उत्तम मौसम भएकाले अत्याधिक मात्रामा कुखुरा उत्पादन हुने बताए । सोही अवधिमा कुखुराको मूल्य प्रति केजी २०० देखि २४० रुपैयाँसम्म थियो । तर, मंसिर महिना यता विस्तारै चिसो बढेकाले हरेक वर्ष झैं यो वर्ष उत्पादन कम भई कुखुराको मासुको मूल्य महंगो भएको उनको भनाइ छ ।

‘हाल चिसो मौसम भएकाले जाडोमा पाल्न निकै गाह्रो हुने र धेरै मर्ने भएकाले जाडो मौसममा कम मात्रामा उत्पादन हुन्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘जाडोका कारण पहाडमा उत्पादन गर्ने व्यवसायले उत्पादन नै गर्दैैनन् । तराईमा व्यवसायीले उत्पादन गरेता पनि जाडोले गर्दा आदि मात्रै उत्पादन हुन्छ ।’ त्यसैले हाल बजारमा खपत भएको कुखुराको मासु तराईमा उत्पादन गरिरहेको व्यवसायीले धानिरहेको बताए ।

बजारमा जति पनि चिसो मौसममा उत्पादन गर्न सफल भएका व्यवसायीले उचित मूल्य पाउने उनले बताए । तर, बजारमा कुखुराको मूल्य बढेता पनि व्यवसायीलाई भने खासै नाफा नहुने उनको भनाइ छ । ‘जाडो समयमा उत्पादन निकै कम हुने भएकाले व्यवसायीले रिस्क मोलेर उत्पादन गर्नुपर्ने हुन्छ । चिसो मौसममा पनि बचाउनको लागि निकै कोसिस गरेता पनि उत्पादनका लागि हालेको मध्ये आधा मात्रै बचाउन सफल हुन्छ,’ उनले भने ।

उनका अनुसार चिसो बढेमा अझै मूल्य बढ्ने बताए । तर, फागुनपश्चात भने सबैतिर चिसो विस्तारै हट्दै जाने र व्यवसायीको उत्पादनले गति लिइसकेपछि कुखुराको मासुको मूल्य सस्तो हुने उनको अनुमान छ ।

तर, बजारमा कुखुरा उत्पादन कम भएता पनि बजारमा भने अभाव नहुने उनको दाबी छ । यो वर्ष मात्रै नभई हरेक चिसो मौसमको कुखुराको उत्पादन कम भएकाले उक्त समयमा मूल्य वृद्धि हुनु स्वाभाविक रहेको उनले जानकारी दिए । हाल बजारमा कुखुराको मासुको मूल्य प्रति केजी ३७० देखि ४०० रुपैयाँसम्म बिक्री गरिरहेको उनले बताए ।

यस्तै, नयाँ बानेश्वर शंखमुल मार्गस्थित रहेको आइ कालु मिट सेन्टरका कर्मचारी निता राउतका अनुसार हाल कुखुराको मासुको प्रति केजी मूल्य ३९० मा बिक्री गरिरहेको बताइन् । सामान्य मासु पसलमा कलेजो, मुटु, पखेटा सबै हालेर दिने भएकाले केही सस्तो पर्छ । तर, आइ कालुमा उक्त भाग छुट्टाएर पनि ३९० मा बिक्री गरिरहेको उनको भनाइ छ ।


क्लिकमान्डु