कोरोना कहरः माउन्टेन ग्लोरी होटलको आम्दानी ४ करोड, घाटा १२ करोड



काठमाडौं । कास्कीको दोभिल्लामा रहेको माउन्टेन ग्लोरी होटलले कोरोना महामारीका कारण गत वर्ष मात्रै ११ करोड ८० लाख रुपैयाँ घाटा बेहोरेको छ ।

कोरोना महामारीका कारण मुलुकमा लागू भएको लकडाउनका कारण पर्यटक आगमन ठप्प हुँदा कम्पनीले सञ्चालनको शुरुवातमै ठूलो घाटा बेहोरेको हो ।

कम्पनीका अनुसार वर्ष २०२० मा जम्मा ३ करोड ९० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । कम्पनीका अनुसार आम्दानी ठप्प हुँदा ऋणको ब्याजदर बढिरहेको र यसले कम्पनीलाई ठूलो घाटा बेहोर्न बाध्य बनाएको हो ।

सन् २०१९ जुलाई महिनाबाट सञ्चालन शुरु गरेको होटल जम्मा साढे ८ महिना मात्रै राम्रोसँग सञ्चालनमा आएको थियो । त्यसपछि कोरोना महामारी शुरु भएको र होटलको अकुपेन्सी घट्नुका साथै न्यूनतम मूल्यमै प्याकेज बिक्री गर्न बाध्य हुँदा घाटा बेहोर्नु परेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा आएको लग्जरी माउन्टेन ग्लोरी होटलले कोरोनाका कारण नेपाल भ्रमण वर्ष स्थगित हुँदा ठूलो आर्थिक नोक्सानी बेहोरेको हो ।

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो ।

तर सन् २०२० को शुरुवातमै चीनको वुहान प्रान्तबाट शुरु भइ संसारभर फैलिएको कोभिड-१९ का कारण पर्यटक आगमन ठप्प हुँदा उक्त घाटा बेहोरेको कम्पनीको भनाइ छ ।

कम्पनीले हालै मात्रै ६२ करोड रुपैयाँ बराबरको ऋणका लागि रेटिङ समेत गराएको छ । जसमध्ये ४ करोड ७८ लाख रुपैयाँ अल्पकालीन ऋण र ५७ करोड १ लाख ६० हजार रुपैयाँ दीर्घकालीन ऋण हो ।

५९ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ६४ वटा रुम छन् । कम्पनीका अनुसार होटल निर्माणका लागि १ अर्ब १७ करोड ३० लाख रुपैयाँ लागत लागेको थियो । कम्पनीका सञ्चालकहरुले ४५ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् भने बाँकी बैंकको लगानी छ ।

सामान्यतयाः प्रिमियम होटलहरु स्थापना भएको ३ देखि ४ वर्षपछि मात्रै स्थायित्व हुने गरेकोमा कोरोनाका कारण माउन्टेन ग्लोरी होटल साढे ८ महिनापछि नै बन्द गर्नुपर्ने अवस्था आउँदा होटलले ठूलो आर्थिक क्षति बेहोरेको हो ।

होटलमा ८ जना सञ्चालक छन् । हाइड्रोपावर, बैंकिङ र हस्पिटापलिटी क्षेत्रमा काम गरेका सुनिलभक्त श्रेष्ठ कार्यकारी अध्यक्ष रहेको होटलमा विभिन्न क्षेत्रमा ३१ वर्षको अनुभव संगालेका नरेन्द्र प्रजापतिलगायतका सञ्चालक छन् ।


क्लिकमान्डु