कहाँ हराए ज्याक मा ? २ महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन



ई–कमर्श प्लेटफर्म अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति व्यवसायी ज्याक मा २ महिनायता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनको कम्पनीमा लगातार चीन सरकारका अधिकारीहरुको निगरानी बढेसँगै उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । यसले धेरै मानिसहरुलाई उनी भूमिगत भएको आशंका गरेका छन् ।

उनी आफ्नै टेलिभिजन ट्यालेन्ट सो, अफ्रिका बिजनेस हिरोजको अन्तिम एपिसोडमा पनि देखिएनन् । उक्त कार्यक्रममा मा जजको भूमिकामा देखिने कार्यक्रम थियो । उनको स्थानमा अलिबाबाका कार्यकारीले भाग लिएको बेलायतको टेलिग्राफले लेखेको छ । उनको तस्बिर समेत वेवसाइटबाट हटाइएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार मा व्यस्त तालिका भएकाले कार्यक्रममा भाग नलिएको अलिबाबाका प्रवक्ताले भनेका थिए ।

माको व्यवसाय एन्ट ग्रुपलाई यति बेला बेइजिङका अधिकारीहरुले कडा निगरानीमा राखेका छन् । माले सांघाईमा अक्टोबर २४ मा दिएको अभिव्यक्तिपछि उनी लगातार निगरानीमा परेका छन् । उनले चिनियाँ रेगुलेसन सिस्टम र विश्व बजारमा जोड्ने संरचनाको आलोचना गरेका थिए । उनले सिस्टमलाई ‘पुराना मानिसहरुको क्लब’ भएको बताएका थिए ।

उनले अब आगामी जेनेरेसनका लागि नयाँ मानिस आवश्यक रहेको र वर्तमान सिस्टम परिवर्तन आवश्यक रहेको बताएका थिए ।

एन्ट ग्रुपले आइपीओ ल्याउने घोषणा गरेको केही समयपछि उक्त घटना घटेको थियो । कम्पनीले ३७ अर्ब डलर बराबरको आइपीओ ल्याउने घोषणा गरेको थियो । जसलाई चिनियाँ सेक्युरिटीले पनि हरियो सिंग्नल देखाएको थियो । जसलाई पछि निलम्बन गरियो ।

माले गत अक्टोबर १० देखि ट्विट समेत गरेका छैनन् ।


क्लिकमान्डु