नेपाल टेलिकमको एनटी टिभी सेवा सुरु, के छन् सुविधा ?



काठमाडौं । नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आएको छ ।

आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी टीभीसेवाको शुरु गरेका छन् । मन्त्री गुरुङले टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउँदा सेवाग्राहीले दिगो र भरपर्दो सेवा पाउनको लागि योजना बनाएर लाग्न निर्देशन दिए ।

यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पु¥याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको बताए ।
मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको जानकारी गराए । उनले यो सेवाको विस्तारले सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।

कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । तत्कालका लागि काठमाडौ उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौ बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुनेछ ।

राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक फरक कायम गरिएको छ ।

यसमा वेसिक प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवाको दर १ हजार २३० प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा १३ हजार २२० रुपैयाँमा पाइने छ ।

यसैगरी प्रिमियम प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबिपिएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवा १ हजार ४ सयमा उपलब्ध हुनेछ भने एक वर्षका लागि ६० एमबिपिएस इन्टरनेट सहितको एनटी टिभी सेवा २४ हजार ५०० मा उपलब्ध हुनेछ । वेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएच अन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध गराउने छ । यसका लागि वेसिक प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी सेवा ४८० रुपैयाँमा उपलब्ध हुनेछ ।

एक वर्षको ५ हजार ७८० रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहनु भएका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेज अन्तर्गत एक महिनाको एनटी टिभी ८ सय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने १२ महिनाको एनटी टिभी ८ हजार ३०० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु