म्युजिक कन्टेस्ट २०२१ को प्रायोजकमा सिभिल बैंक
काठमाडौं । दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ । जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ ।
प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार क्रमशः २५ हजार, १५ हजार र १० हजार राखिएको छ । कार्यक्रममा १५ वर्षदेखि २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् ।
इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युलआदि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।
प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् । यद्दपि नेपालको विभिन्न मौलिक भाषामा गाइएका गीतलाई भने प्राथमिकता दिइनेछ ।
नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आह्वान गरिएको छ ।
पहिलो चरणको गीत अपलोड जनवरी १२ सम्म गर्नुपर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ ।
२१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ सम्म अपलोड गरिसक्नुपर्नेछ । अन्तिम चरणमा विजेताहरूको घोषणा ७० प्रतिशत फेसबुक ग्रुपमार्फत प्राप्त लाइकको आधारमा र ३० निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।
दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताए ।
हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।