निर्जीवन बीमा कम्पनीले साढे ६० अर्ब लगानी, कुन क्षेत्रमा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४३ करोड ३४ लाख रुपैयाँ बढी लगानी गरेका छन् ।

सो अवधिमा पुनर्बीमा कम्पनीसहित सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका हुन् ।

बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पुर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुल्ला गरेको थियो । त्यसअघि कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे ।

लगानीको दायरा खुल्ला भएपनि बीमा कम्पनीहरुले आम्दानीको मुख्य स्रोत बैंक तथा वित्तीय संस्थाको मुद्दति र सेयरमा लगानीलाई नै बनाएका छन् ।

बीमा समितिद्वारा उपलब्ध असोज मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा कम्पनीहरुको सबैभन्दा बढी लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा छ । सो अवधिमा कम्पनीहरुले कुल लगानीको ८३ प्रतिशत अर्थात् ५० अर्ब ११ करोड रुपैयाँ बढी लगानी मुद्दतिमा गरेका हुन् ।

कम्पनीहरुको मुद्दतिमा लगानीको विवरण
निर्जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्त कम्पनीहरुको मुद्दतिमा गरेको कुल लगानीमध्ये वाणिज्य बैंकको मुद्दतिमा ४२ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ बढी, विकास बैंकको मुद्दतिमा ५ अर्ब ९२ करोड १४ लाख रुपैयाँ बढी र वित्त कम्पनीहरुको मुद्दतिमा ८५ करोड ३३ लाख रुपैयाँ बढी लगानी गरेका हुन् ।

साथै पूर्वाधार विकास बैंकको मुद्दतिमा प्रभु इन्स्योरेन्सले ६९ करोड १६ लाख ३८ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले २५ करोड रुपैयाँ गरी ९४ करोड १६ लाख ३८ हजार रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुको उत्पादनमुलक क्षेत्रमा लगानी
बीमा कम्पनीहरुले पनि धेरै अगाडिदेखि नै आफ्नो लगानी संकुचित भएको कारण नाफा बढाउन नसेको गुनासो गर्दै बीमा समितिलाई लगानीको दायरा बढाउन माग गरेका थिए । तर आफ्नो माग पूरा भए पनि बीमा कम्पनीहरुले लगानी उत्पादन मुलक क्षेत्रमा गरेको छैनन् ।

सो अवधिमा कम्पनीहरुले कुल लगानीको ०.२२ प्रतिशत अर्थात् १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ मात्र कृषि, पर्यटन, पूर्वाधार र जलस्रोतमा लगानी गरेका छन् । जसमा पनि पुनर्बीमासहित सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमा ६ वटा कम्पनीले मात्र सो शीर्षकमा लगानी गरेका छन् ।

सेयर र ऋणपत्रमा कम्पनीहरुको लगानी
समीक्षा अवधिमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीको डिबेञ्चरमा ०.२८ प्रतिशत अर्थात् १६ करोड ७८ लाख रुपैयाँ, साधारण सेयरमा कुल लगानीको ८.९२ प्रतिशत अर्थात् ५ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ, म्युचअल फण्ड र नागरिक लगानी कोषमा कुल लगानीको ०.५६ प्रतिशत अर्थात् ३३ करोड ९१ लाख रुपैयाँ र अन्य क्षेत्रमा कुल लगानीको ०.१५ प्रतिशत अर्थात् ९ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, नेपाल सरकारको बचत तथा ऋणपत्रमा कुल लगानीको १.०५ प्रतिशत अर्थात् ६५ करोड ३८ लाख २५ हजार रुपैयाँ लगानी निर्जीवन बीमा कम्पनीहरुले चालु आवको असोज मसान्तसम्म गरेका छन् ।


क्लिकमान्डु