जीवन बीमा कम्पनीले विभिन्न कम्पनीको सेयरमा गरे करिब साढे १६ अर्ब लगानी



काठमाडौं । सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १६ अर्ब ३४ करोड ५० लाख २ हजार रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त लगानी गरेका हुन् । यसरी सूचिकत कम्पनीको साधारण सेयरमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४० करोड ६७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ३४ करोड ४ लाख ८१ हजार ४८१ रुपैयाँ लगानी गरेको छ भने नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड ५८ लाख २८ हजार रुपैयाँ लगानी गरेको छ ।

बीमा समितिले जारी गरेको बीमकको लगानी निर्देशिका–२०७५ मा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधरण सेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा निर्धारण गरेको छ ।

जसमा सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न नपाइने व्यवस्था छ । समितिको सोही व्यवस्थाभित्र रहेर जीवन बीमा कम्पनीहरुले लगानी गरेका छन् ।

यसरी चालु आवको पहिलो तीन महिनामा लगानी गर्ने अन्य कम्पनीमा एशियन लाइफले १ अर्ब ६६ करोड ७७ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ । अन्य कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब २२ करोड ९१ लाख ४० हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले २५ करोड ४१ लाख ५ हजार रुपैयाँ, गुँरास लाइफ इन्स्योरेन्सले २५ करोड ९६ लाख ४ हजार रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सले ९० करोड ८१ लाख ५८ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले २ करोड २८ लाख ६७ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सले १० करोड ३५ लाख ६१ हजार रुपैयाँ, ज्योती लाइफले ४ करोड ६५ लाख ५६ हजार रुपैयाँ, सन नेपाल लाइफले १२ करोड ११ लाख ५० हजार रुपैयाँ, रिलायन्स लाइफले १ करोड ६४ लाख ५३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले १४ करोड १५ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ ।

यता सिटिजन लाइफले १३ करोड ५५ लाख ६२ हजार रुपैयाँ, सानिमा लाइफले ४ करोड ७५ लाख ६२ हजार र प्रभु लाइफ इन्स्योरेन्सले ३० करोड ७८ लाख ८५ हजार रुपैयाँ सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । समितिका अनुसार मेट लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारण सेयरमा लगानी गरेका छैनन्।


क्लिकमान्डु