सेल पे र फोन पे बीच भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं । सेल–पे र फोन–पे बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनीहरु फोनपे पेमेण्ट सर्भिस (फोनपे) बीच सेलपेका ग्राहकहरुले अब फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने बताइएको छ ।
सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् । कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको हो ।
साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।
सो सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १६०००० मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोर्ड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।