उपाय सिटि कार्गो र खेति मोबाइल एपबीच सहकार्य



काठमाडाैं । स्थानीय  कृषि र खाद्यन्न क्षेत्रको आपूर्ति श्रृंखला व्यवस्थापनमा डिजिटल  विधि कम्पनी  डि.भि. एक्सलस/  खेति मोबाइल  एप र उपाय सिटि कार्गो बीच सहकार्य हुने भएको छ ।

२०१६ मा स्थापना भएको डि.भि. एक्सलस प्रालिले २०१९ सालको शुरुवात देखि खेति मोबाईल एप बजारमा ल्याएको थियो ।

खेति मोबाइल एपले साना  तथा व्यवसायीक किसानहरुलाई उत्पादकत्व वृद्धि गर्न र नाफामूलक कृषि गर्न सहयोग गर्दछ ।

यसै वर्षको कार्तिक महिना देखि उपाय सिटि कार्गोले पनि यस खेति मोबाइल एपमा लगानी गरी  साझेदारी शुरु गरेको छ ।

हालै सम्पन्न एक कार्यक्रममा डि.भि. एक्सलस/ खेति मोबाईल एप र  उपाय सिटि कार्गोका प्रमुख लगानिकर्ता र सदस्यहरु उपस्थित भई साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यका लागि आवश्यक रणनीतिक बैठक समेत समापन गरेको छ ।

‘किसानहरुको उत्पादनको बजार व्यवस्थपनमा ढुवानी एक प्रमुख चुनौती हो, ढुवानी व्यवस्थापनलाई सहजीकरण गर्न र धेरै भन्दा धेरै किसानलाई स्मार्ट आपूर्ति श्रृंखलामा जोड्न हाम्रो साझेदारी महत्वपूर्ण छ,’ उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले भने ।

विगत एक दशकभन्दा बढी  स्थानीय कृषि र खाद्यन्नको क्षेत्रमा कार्य गर्दै आएका उद्यमी र यस डि.भि. एक्सलस/ खेति मोबाइल एपका सह- संस्थापक तुलसी गिरीले भने,’  ‘खेति मोबाइल एप र उपाय सिटी कार्गोबीचको सहकार्य, स्थानीय कृषि र खाद्यन्न क्षेत्रको आपूर्ति श्रृंखला व्यवस्थापनमा थप टेवा पुर्याउन मात्र नभई, सिंगो कृषि र खाद्यन्नको क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै यस क्षेत्रको विकासमा बृहत साझेदारीको आवश्यकतालाई एउटा नमूनाको रुपमा स्थापित गर्न पनि हो ।

खेति मोबाइल एपमा दुईवटा सुविधा रहेका छन् । १० खेति फार्म जसले किसानहरुको उत्पादनको लागत कम गर्न र उत्पादन वृद्धि गर्न किसानहरुलाई फार्म व्यवस्थापन सेवा, उनीहरुलाई आवश्यकपर्ने बिउ बिजन, मलखाद, कृषि सामग्री, औजारआदि फार्मसम्मै डेलिभरी, किसानलाई च्याट म्यासेज र फोनमार्फत् कृषि प्राविधिक सूचना र सेवा तथा उनिहरुको उत्पादनलाई बजारीकरण गर्न समेत सुविधा प्रदान गर्दछ ।

साथै खेति फुडले स्थानीय उत्पादनको बजारीकरण गर्न र उपभोक्तालाई स्थानीय खाद्यन्न घर घरमा डेलिभरी गर्ने साथै, व्यवसायीक उपभोक्ताहरु जस्तै होटल रेष्टुरेन्ट, खाद्य प्रशोधन कम्पनिहरुलाई समेत स्थानिय कृषि उत्पादनको आपूर्ति श्रृंखलामा जोड्ने काम गर्दछ ।

हालसम्म खेति मोबाइल एपले प्रदेश ३ र ४ का कास्की, काठमाडौँ, पाल्पा, मकवानपुर, चितवन लगायतका ११ जिल्लाका १० हजारभन्दा धेरै साना किसानहरू, काठमाडौं र पोखरामा ३ हजारभन्दा बढी उपभोक्ताहरू र ५० भन्दाबढी व्यवसायीक उपभोक्ताहरुलाई सेवा र सुविधा दिंदै आइरहेको छ ।

साथै यस एपले विभिन्न संघसंस्था, प्रमुख कृषि सेवा र समाग्री प्रदायकहरू, बैंक तथा वित्तिय संस्था तथा सरकारी निकायहरुसँग सहकार्य गरि काम गर्दै आईरहेको छ ।

उपाय सिटी कार्गो अनलाइन बजार हो । जसले व्यक्ति र व्यवसायलाई पिकअप ड्राइभर पार्टनरहरूसँग मोबाइल एपमार्फत् जोडेर उनिहरुको थोकका सामानहरू छिटो र झन्झटमुक्त ढुवानी र वितरण सुनिश्चित गर्दछ ।

हाल काठमाडौंका सयौं ड्राइभर पार्टनरहरूसँग काम गरिसकेको अनुभवबाट अब छिटै देशका प्रमुख सहरहरु बुटवल र पोखरामा पनि आफ्नो सेवा बिस्तार गर्दैछ । उपाय सिटी कार्गोले खेति मोबाइल एपसँगको साझेदारीमार्फत् अब किसानहरुको उत्पादनको ढुवानी व्यवस्थापन गरी स्मार्ट आपूर्ति श्रृंखला विकास गर्ने जमर्को गर्दैछ ।

खेति मोबाइल एप र उपाय सिटी कार्गोबीच सहकार्यको यो सहकार्य नेपालको स्थानीय कृषि र खाद्यन्न क्षेत्रको आपूर्ति श्रृंखला व्यवस्थापन र विकासमा एक कोशेढुगों सावित हुन सक्दछ ।


क्लिकमान्डु