ग्लोबल आइएमई बैंकले संस्थागत ग्राहकका लागि शुरू गर्यो कर्पोरेट पे
काठमाडौं । ग्लोवल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत् ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् ।
त्यस्तै, उक्त प्रणालीमार्फत् कनेक्ट आइपीएस अथवा एनसीएचएल-आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथिन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरी कारोबार गर्न सकिने सुविधा छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ । यस कर्पोरेट पे प्रणालीको शुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।
यस प्रणालीको प्रयोग र बिस्तार पश्चात भौतिकरुपमा बैंकमा नपुगी अनलाइनमार्फत् विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहजरुपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास छ ।