साधारणसभा नगर्ने र लाभांश पनि नदिने विशाल बजारको सेयरमा कर्नरिङको खेल 



काठमाडौं । सेयर बजार बुल भइरहेका बेलामा बिशाल बजार कम्पनीको सेयर पनि बुल भइरहेको छ । तर बिशाल बजार कम्पनीको साधारणसभा कहिले हुने ? सेयरधनीलाई कति लाभांश दिने केही टुंगो भने छैन ।
तर कम्पनीको सेयर मूल्य दैनिकजसो बढिरहेको छ ।
यसप्रति नियामक निकाय धितोपत्र बोर्ड सामान्य प्रश्नोत्तरमा नै अड्किएको छ । असोजमा धितोपत्र बोर्डले किन साधारणसभा नगरेको भनेर प्रष्टिकरण सोधेपछि कम्पनीले केही समयमा गर्ने भनेर जवाफ पठाएको थियो । त्यसपछि भने नियामकले कुनै चासो देखाएको छैन ।
यतिबेला सेयर बजारमा कर्नरिङ गरेर चलखेल गर्नेका लागि बिशाल बजार कम्पनी निकै राम्रो साबित भएको छ ।
यसअघि अदालतको फैसला अनुसार कम्पनीले सरकारको नाममा ३ करोड ९६ लाख कित्ता सेयर कायम गर्ने प्रयोजनका लागि कम्पनीको अधिकृत पुँजी४ अर्ब १ करोड रुपैयाँ कायम हुने सन् २०१७ को साधारणसभाको सूचनामा उल्लेख गरेको थियो । तर हालसम्म पनि कम्पनीका चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँमा मात्रै सीमित छ ।
४ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुनुपर्नेमा ४ करोड ९१ लाख ४० हजार रुपैयाँ मात्रै बनाएर लगानीकर्ताहरुले हालसम्म राम्रो लाभ लिइरहेको देखिन्छ । तर यस विषयमा भने नियामक भने बेखर छ ।
राज्यले पनि झण्डै ५ करोडको कम्पनीलाई ४ अर्ब भनेर भनिरहेको छ । ४ अर्बको कम्पनीलाई झण्डै ५ करोड भनेर सूचिकृत गरियो ।
‘बिशाल बजार कम्पनीको सेयरमा राज्यले नै कर्नरिङ गर्न सहयोग गरेको छ,’ एक लगानीकर्ताले भने ‘४ अर्बको कम्पनीलाई ५ करोड कायम गरेपछि चलखेल गर्नेलाई योभन्दा ठूलो अवसर कुनै हुँदैन ।’
कम्पनी नियम अनुसार चल्ने हो भने अदालतले भने अनुसार ३ अर्ब ९६ करोड रुपैयाँ नेपाल सरकार अर्थमन्त्रालयको नाममा हुनुपर्ने हो । तर अहिलेसम्म ४ अर्ब १ करोडको हुुनुपर्ने कम्पनी झण्डै ५ करोडको हाराहारीमा सीमित छ ।
यतिबेला कम्पनीले गलत सूचना दिँदादिँदै पनि कारोबार गर्न नेप्से र सेबोनले रोकेका छैनन् । नेप्सेलाई सोध्दा धितोपत्र बोर्डले गर्नुपर्ने हो भनिरहेको छ भने बोर्डले हामीले स्पस्टिकरण सोधेका थियौ, साधारणसभा गर्छौै भनेर पत्र पठाएको छ भन्दै टार्ने काम गरिरहेको छ ।
यता अदातले मुद्दा सकेर ४ अर्ब १ करोड कायम गर्ने भने पनि अर्थमन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७१÷०७२ देखि साधारणसभा गर्न नसकेको कम्पनी अहिले आएर सेयर लगानीकर्ताको कारण समयमा नै साधारणसभा गर्न नसकेको अरोप लगाएर बसेको छ ।
यो विषयमा कुरा गर्न खोज्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिष्णुबाबु केसी सम्पर्कमा आउन चाहेनन् ।
कम्पनीमा सम्पर्क गर्दा एक कर्मचारीले कम्पनीको जग्गा नेपाल सरकारको नाममा कामय गर्ने भनेर सर्वोच्च अदालतले पनि फैसला गरिसकेको बताए ।
तर त्यसका लागि साधारणसभामा जानैपर्ने र साधारणसभाले पारित गर्नुपर्ने उनको भनाइ छ ।
‘त्यसका लागि सेयर होल्डर नै मानेका छैनन्,’ उनले भने ।
अहिले अर्थमन्त्रालयका नाममा सेयर कायम गराउनुभन्दा पहिला अन्य सेयर होल्डरसँग समन्वय गरेर साभारणसभा गएर उक्त प्रस्ताव पारित गरेर मात्रै अर्थमन्त्रालयमा सेयर कायम हुने कम्पनीका ती अधिकारीको भनाइ छ ।
अहिलेको सर्वसाधारण सेयरधनीको गणपुरक संख्या नपुगेको कारण रोकिएको हो ।
‘अहिले सर्वसाधारण लगानीकर्ताको माग जग्गाको मूल्य बराबरको सेयर कायम गराउने र हाल कायम रहेको सेयरलाई पनि सोही अनुपातमा लैजानु पर्नेछ,’ उनले भने ‘त्यो माग सरकारले पूरा गर्न सकेको छैन ।’
जसको कारण साधारणसभा हुनका लागि समय लागेको ती कर्मचारीको भनाइ छ ।
हाल कम्पनीमा सरकार (अर्थमन्त्रालय) ९८.७५, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ०.३६, र कृषि सामग्री कम्पनी लिमिटेड ०.०६ र सर्वसाधारणका ०.८२ प्रतिशत सेयर स्वामित्व छ ।
साधारणसभाले पारित गरेपछि सरकारी निकायको ९९ प्रतिशतभन्दा बढी सेयर हुने छ ।  यसअघि आव २०७१÷०७२ मा साधारणसभा भएको थियो । त्यसयता साधारणसभा गरेको छैन ।
कानुन बमोजिम साधारण सभा नबोलाएको भन्दै यसअघि  २०७४ साल असार ७ गते पाटन उच्च अदालतले विशाल बजार कम्पनीलाई साउन
मसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएको थियो । जसअनुसार कम्पनीले २०७४ साउन ३१ गते साधारणसभा गरेको थियो । त्यसपछि अर्को साधारणसभा गरेको छैन ।

 


क्लिकमान्डु