वाणिज्य बैंकहरुमा एक महिनामा ४२ अर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा ४६ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढेको छ । संचालनमा रहेका २७ वाणिज्य बैंकले १ महिनामा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांक अनुसार कात्तिक दोस्रो सातासम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिरको दोस्रो साता ४२ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

यता कर्जा प्रवाहतर्फ भने काक्तिक दोस्रो साता ३० खर्ब २० अर्ब रुपैयाँ प्रवाह गरेकोमा मंसिरको दोस्रो साता ४६ अर्ब रुपैयाँले बढेर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकहरुले कात्तिक तेस्रो साता ३० खर्ब ३१ अर्ब रुपैयाँ र कात्तिक अन्तिम साता ३० खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर मंसिरको पहिलो साता बैंकहरुमा कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको देखिन्छ भने मंसिरको दोस्रो साता नै १६ अर्ब रुपैयाँले बढेको छ ।

कोरोना भाइरसको प्रभावले लामो समयसम्म सुस्ताएको कर्जा माग पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै जाँदा बैंकहरुमा माग बढ्न थालेको हो ।


क्लिकमान्डु