इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने २३ करोड ठगी मुद्धामा पक्राउ



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर कुमार न्यौपाने ठगी सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रामेछाप जिल्लाको मन्थली नगरपालिका-८ हाल काठमाडौं महानगरपालिका वडा-४ चण्डोल बस्ने ६४ बर्षका न्यौपाने पक्राउ गरेको हो ।

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-४ स्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानी पुर्याएर अन्य संलग्न व्यक्तिहरु समेतलाई लाभ पुर्याएको ब्यूरोको भनाइ छ ।

न्यौपानेले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ तथा लेखा परिक्षणबाट खुल्न आएको बेरुजु सहितको २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ठगी गरेको पाइएको छ । न्यैपानेलाई मंसिर १० गते चण्डोलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान अघि बताएको ब्यूरोको भनाइ छ ।

ब्यूरोका अनुसार २०७३ फागुन २० गते सञ्चालक समितीको बैठकले १ करोड ५० लाखको बिल भरपाई पेश गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएको पाइएको छ ।

कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजारको गाडी तत्कालिन अध्यक्ष लम्बोदर कुमार न्यौपानेले आफ्नो नाममा दर्ता गरि चलाएको पाइएको छ । उनले कलेजको लेटर प्याड र छापको दुरुपयोग गरि खर्च नै नभएको सचिवालयको खर्चको बहानामा अध्यक्ष न्यौपानेले ५७ लाख ५० हजार रकम लिएको पाइएको छ ।

न्यौपाने २०७० चैत २३ देखि २०७५ असोज १५ गतेसम्म सञ्चालक समितीको अध्यक्ष रहेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट न्यौपानेलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कसूरमा अनुसन्धान भई रहेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्धाको कसूरमा धरौटीमा रिहा भई उक्त मुद्धा बिचाराधिन रहेको छ ।


क्लिकमान्डु