उर्जा बचत गर्ने विभिन्न कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो अनुदान



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत अनुदान रकम हस्तान्तरण गरेको छ ।

बैंकले प्रिमियर अर्गानिक्स् प्रालिलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिज प्रालिलाई ३३ लाख १५ हजार ६ सय रुपैयाँ, प्रिमियर स्टिल प्रालिलाई १७ लाख ८ हजार ४५६ रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहबीच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनका लागि प्रोजेक्ट एक्जुकेटिङ एजेन्सीको रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने बैंकले जानकारी दिएको छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।


क्लिकमान्डु