घाटामा गएका कम्पनीको सेयरमा लगानीकर्ताको हानथाप, कर्नरिङ गरेर बजार बढाउने खेल



काठमाडौं । पुँजी बजारमा उछाल आउन थालेपछि सप्लाइ नै नभएका कम्पनीको सेयर मूल्यमा पनि उछाल आएको छ ।

यस्तै कम्पनीले शेयरलाई कर्नरिङ गर्दा लगानीकर्ताले दोस्रो बजारलाई उछाल ल्याउने गरेको छ । सीमित लगानीकर्ताले कर्नरिङ गर्दा पनि नियामक निकाय धितोपत्र बोर्ड भने मौन छ ।

यतिबेला सप्लाइ कम हुनुका साथै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण हेर्दा नोक्सानमा गएका कम्पनीको सेयर मूल्यमा पनि उत्तिकै उछाल आएको छ ।

सोमबारको कारोबारमा होटल समूहको उपसूचक ७६.६९ अंकले बढ्यो । नेप्सेमा जम्मा ४ वटा होटल सूचिकृत रहेकोमा सोल्टी होटल, र्याडिसन होटल (ओरेन्टल ) र तारागाउँ रिजेन्सी होटलको मात्रै कारोबार हुने गरेको छ । तीन वटा होटलको कारोबारमा ७६.६९ अंकको बढोत्तरी देखिएको छ ।

यसरी कारोबारमा बढोत्तरी आउनुमा कुनै खास कारण भने देखिँदैन । वित्तीय विवरण नै हेर्दा चालु आवको पहिलो त्रैमासमा र्याडिसन होटलले झण्डै ६ करोड र सोल्टी होटलले झण्डै ८ करोड रुपैयाँ नोक्सानी व्यवहोरेका छन् ।

यसरी नोक्सानी व्यहोरेका होटलले लगानीकर्तालाई उचित प्रतिफल दिँदै जाने सम्भावना पनि छैन । तै पनि होटलमा लगानकर्ताको ध्यान निकै देखिएको छ । यस्तै कम्पनीमा धेरै सर्वसाधारण लगानीकर्ताको लगानी हुँदैन ।

जो बजारमा चलखेल गर्न सक्छन, जो बजारमा कर्नरिङ गर्न सक्छन, त्यस्ताको वरिवरी मात्रै सेयर हुने गरेको छ । अहिलेको कारोबारको अवस्था पनि कर्नरिङ गर्नेको हातमा रहेको छ ।

सेयर बजारका एक विश्लेषकका अनुसार अहिले होटलमा मात्रै नभएर विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिस्ट्रिलरीलगायत सेयर आपूर्ति कम भएका कम्पनीमा कर्नरिङ गराएर बजार बढाइएको हो । अहिले साना कम्पनीमा कर्नरिङ गरेर कमाउने प्रवृति बढेको उनको भनाइ छ ।

अहिले लगानीकर्ताले कम्पनीको वित्तीय विवरण हेर्नुभन्दा पनि साना कम्पनीमा जसको कर्नरिङ गर्न सकिन्छ, त्यसैको बजार भ्यालु बढाउने प्रवृति देखिएको छ । पहिला कम्पनीहरु कस्तो रिपोर्ट आउने हो त्यो हेर्ने र लगानी गर्ने गरेपनि अहिले त्यसलाई छोडेर कति कर्नरिङ हुन्छ कि हुँदैन भन्नेमा बढी ध्यान गएको छ । यस्ता कारोबारलाई धितोपत्र बोर्डले कानूनको दायरामा ल्याउनुपर्ने लगानीकर्ताको माग गरेका छ ।

यता धितोपत्र बोर्ड भने बजारको अनुगमन गर्न, कर्नरिङ गर्ने कम्पनीको कारोबारमा ध्यान दिन छोडेर कानमा तेल हालेर बसेको छ । यसका लागि धितोपत्र बोर्डले आन्तरिकरुपमा हेरिरहेको जनाएको छ । बोर्डका एक अधिकारीका अनुसार यसैका लागि भनेर कर्मचारी नै व्यवस्था गरेको र उसले हेरिरहेको भएपनि अहिलेसम्म कुनै कम्पनीको कारोबारमा कर्नरिङ, बम्प एण्ड डम्प भएको देखिएको छैन । भयो भने कारवाहीको दायरामा ल्याउने  ती अधिकारीले बताए ।

यसअघि केही बोर्डले हिमालय डिस्टिलरी, बिशाल बजार कम्पनीको बारेमा अनुसन्धान भएको र तर त्यसको रिपोर्ट आइनसकेको उनको दावी छ ।

बोर्ड समयमा नै गम्भीर भएर काम नगर्दा कैयन लगानीकर्ता डुब्ने स्थिती पनि सृजना भएको छ । अहिले ठूलाबडा भनिएका लगानीकर्ताले कर्नरिङ गरेर दैनिक जसो बजार बढाउने, सप्लाइ कम भएका कम्पनीको सेयर मूल्य उच्च बनाउने र जुनसुकै दिन पनि उनीहरु आफूसँग भएको सेयर बाहिरिएको दिन साना लगानीकर्ता डुब्ने अवस्था आउन सक्ने देखिएको जानकारहरुको भनाइ छ ।

तर पनि नियामक निकाय धितोपत्र बोर्ड बेखर बनेको छ । सप्लाइ कम भएका कम्पनीको सेयर मूल्य निकै बढेको छ ? कसले भित्र खेलि रहेको छ ? कतै भित्री सूचना चुहावट भएको छ की छैन ? भन्नेमा यतिबेला बोर्डको नेतृत्वले ध्यान दिन सकेको छैन । जसले गर्दा ठूला लगानीकर्ता र कर्नरिङ गर्नेहरुले बजारलाई आफ्नो इसारामा चनाइरहेका छन् ।

नियामक निकाय बेखबर बनेर बस्दा ओरियन्टल होटलको सेयर मूल्य एक महिनामा प्रति कित्ता १३५ रुपैयाँले बढेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ५ सय रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ५ अर्ब ७५ करोड ३२ लाख ६१ हजार ५५० रुपैयाँ रहेको छ । कम्पनीको यो वर्षको वित्तीय विवरण हेर्दा होटल नोक्सानमा छ ।

सरकारी स्वामित्व समेत रहेको तारागाँउ रिजेन्सीको सेयर मूल्य पनि एक महिनाको अवधिमा ६६ रुपैयाँले बढेको छ । होटलको चुक्ता पुँजी ७४ करोड ४९ लाख ८७ हजार ५ सय र बजार पुँजिकरण २ अर्ब ३७ करोड ६५ लाख १० हजार १२५ रुपैयाँ छ ।

अर्को सोल्टि होटलको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेको छ । होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १८ अर्ब ४५ करोड २४ लाख ९६ हजार ८७ रुपैयाँ रहेको छ । यो होटलको पनि नाफामा गिरावट आएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण होटल सञ्चालन नहुँदा व्यवस्था गर्न सकेको छैन । जसको असर होटलको वित्तीय विवरणमा देखिएको छ ।


क्लिकमान्डु