घरदैलोमै पुगेर स्वाब संकलन गर्न महानगरले ल्यायो मोवाइल भ्यान
काठमाडौं । काठमाडौं महानगरले आइतबारबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ ।
महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।
राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
कार्यक्रममा प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको जानकारी दिए । महानगरपालिकासँग भएको थोरै जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइरहेको उनले जानकारी दिए ।
पछिल्लो समय यसलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत स्वाब संकलनको काम सुरुवात गरेका छौँ,’ शाक्यले भने, ‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन् । उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौँ ।’
उनले त्यस्ता व्यक्तिको स्वाब संकलनमा विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाउने बताए । शाक्यले कोरोनलाई हेलचेक्राई नगर्न पनि सुझाव दिए ।
‘सरकारको तर्फबाट हामी लागिरहेका छौँ । स्थानीय व्यक्ति र समूदाय पनि हातेमालो गरेर अघि नबढ्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्न,’ उनले भने ‘सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेक्राई गर्ने हो भने नियन्त्रण भन्दा बाहिर जानसक्छ । सरकारले तोकेको मापदण्ड भित्र रहेका नागरिकको निःशुल्क परिक्षण गर्न महानगरपालिका तयार छ । लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफै परिक्षण गर्न पनि अनुरोध छ ।’
उनले कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निःशुल्क उपचार गर्ने जानकारी गराए । उनले संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्यमापदण्डको पालना गर्न पनि आग्रह गरे । यो भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागले सञ्चालन गर्नेछ ।
सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ ।
नास्टका बरिष्ठ प्राबिधिक अधिकृत डा. शंकर ढकालले यसमा जसको स्वाब लिइएको छ । उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पीपीइ लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो ।
यो वुथ निर्माण गर्न महानगरले ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो ।
सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलिबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ ।