किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको छः महासंघ अध्यक्ष भवानी राणा



काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताएका छन् ।

दुबै व्यक्ति महासंघका लागि आवश्यक भएकाले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताइन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राणाले दुबै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरिराखेको स्पष्ट पार्नुभयो ।

आफूले एकपटक फेरि दुबै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्ने समेत बताइन् ।

‘अध्यक्षका रुपमा दुबै जनालाई एउटा सशक्त उम्मेदवारको रुपमा देख्छु । दुबैजना महासंघमा अट्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिका लागि कुरा भइरहेको छ,’ उनले भनिन् ।

उनले छठपछि एकचोटी दुबैजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउने समे बताइन् । उक्त प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्ने उनको भनाइ छ ।

महासंघको हितका लागि भएपनि दुबैजनाले त्याग गर्नसक्नुपर्ने उनले बताइन् ।

कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुबै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुबै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाको भनाइ छ ।

‘दुबै जनालाई एकपछि अर्को गरेर मिल्नका लागि आउनुस भनेर आह्वान पनि गरेको छु । त्यसैले गर्दा दुबै पक्षले महासंघको हितका लागि त्याग गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

एक जनालाई पनि नगुमाउनका लागि फेरि एकचोटी अन्तिम प्रयास गरिने उनले बताइन्

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

निर्वाचनका लागि किशोर प्रधान र चन्द्रप्रासद ढकालले आ–आफ्नो प्यानल सहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।


क्लिकमान्डु