बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
काठमाडौं । नेवार समूदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ ।
रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुने भएको हो ।
दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन छ ।
त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो ।
मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन् । नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्ष सम्म पुननिर्माणका कारण बन्द रहेको थियो ।
तर अहिले पुननिर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुल्ला गरिएको हो । ५ वर्षपछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणहरु खुशी देखिएका छन् ।
यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था पनि गरिएको छ ।