स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण पालना गरेर पर्व मनाउनुः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर तिहार मनाउन सबैलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त भएको भन्दै सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासीनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफैँ पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गरे ।

‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ, तिहारले पनि हामी बीचको एकतालाई अझ मजबुत बनाएको’ शुभकामना सन्देशमा उल्लेख छ ।

यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल संवतको नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने भन्दै देउवाले यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको उल्लेख गरे ।

सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवतको नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन भन्दै शुभकामना दिएका छन् ।


क्लिकमान्डु