देशकै ठूलो ढल्केबर सवस्टेशन सञ्चालनमा, कुलमानले भने- महत्वपूर्ण उपलब्धी



काठमाडौं । देशकै सबैभन्दा ठूलो सवस्टेशनको रुपमा रहेको ढल्केबर सवस्टेशन बिहिबारदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुराको जानकारी दिएका हुन् । कूल ४०० केभी क्षमताको सो सवस्टेशन पूर्ण रुपमा सफलतापूर्वक चार्ज भएको र अब पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।
सो सवस्टेशन नेपालको पहिलो ठूलो र जिआइएस सवस्टेशन समेत हो ।

कुलमानले सामाजिक सञ्जालमा लेखेका छन् ‘ ढल्केवार ४०० केभि क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई मुजफरपुर ढफ्केबार लाईन ४०० केभिमा सफल्तापुर्वक चार्ज भएको छ ।’

सो सवस्टेशन निर्माण सम्पन्न भएपछि नेपाल र भारतमा झण्डै १ हजार २०० मेगावाट विद्युत आयात तथा निर्यात गर्न सकिन्छ ।

सोही सवस्टेशनमा माथिल्लो तामाकोशी, अरुण तेस्रो लगायतका आयोजनाको विद्युत समेत जोडिनेछ ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमानले आयोजना सम्पन्न भएकोमा आयोजना प्रमुख शुक्र देवकोटा र आयोजनाका टिम, पुर्व उपकार्यकारी निर्देशक व्रजभुषण चौधरीलाई विशेष धन्यवाद दिएका छन् ।

यस्तै, उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, प्राधिरकणका सञ्चालकहरु, कार्यकारी निर्देशक लगायत सम्पुर्ण कर्मचारीलाई समेत बधाइ दिएका छन् ।

उक्त सवस्टेशन नेपालको पहिलो ४०० केभी क्षमताको जिआईएस सवस्टेशन हो । यस्तै पहिलो ठुलो अन्तरदेशिय सवस्टेशन समेत हो ।
नेपालको आफनै लगानीमा, नेपाली प्राविधिकको डिजाईन र सुपरभिजनमा बनेको हुनाले पनि अत्यन्त महत्वपुर्ण रहेको कुलमानको भनाइ छ ।

प्राधिकरणका कार्यरत रहँदै उनले सो सवस्टेशन उदघाटन गराउने इच्छा राखेका थिए । कोरोनाका कारण चीनबाट आयात गरिएको सामान रसुवागढी नाकामा थन्कन पुग्दा उनको इच्छा पूरा हुन सकेन ।


पुष्प दुलाल