यसपालीको तिहारमा झिलिमिली बत्तीको माग घट्यो, २५ करोडको मात्रै आयात



काठमाडौं । तिहार भन्ने वित्तिकै बत्तीको झिलिमिलीको चाड भन्ने बुझिन्छ । साथै, मखमली फुल, माटाका पाला तथा विद्युतीय बत्ती तिहारको मुख्य विशेषता हुन् ।

विशेषगरी तिहारमा झिलिमिली बत्ती बिक्री हुने भएकाले आयातकर्ताहरूले तयारी अवस्थामा रहेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

हाल आयातकर्ताहरूले तिहारका लागि बत्तीहरूको आयात गरिसकेको र अब केही दिनमा खुद्रा बजारमा बिक्री शुरू हुने महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटा बताउँछन् ।

त्यसैगरी, खुद्रा बजारमा पनि तिहारका लागि व्यवसायीहरूले सजावटको सामान तथा बत्तीको माग आउन थालेको उनले बताए । हरेक वर्ष तिहारकै लागि भनेर करोडौंको घरमा सजाउने माला र झिलिमिली बत्ती हुँदै आएको छ ।

गत वर्ष करिब ६० करोड बराबरको बत्ती आयात भएको थियो । तर, यो वर्ष कोरोनाले बजारमा निकै प्रभाव परेको हुनाले गत वर्षको तुलनामा निकै कम सामान आयात भएको उनको भनाइ छ ।

साथै, विगतको तिहार जस्तो उत्साह नभएका कारण करिब २५ करोडको मात्रै बत्ती आयात गरेको महासंघले जनाएको छ ।

‘विगतका दिनमा तिहारमा छुट्टै खालको रौनक हुन्थ्यो । त्यही अनुसार व्यापारीहरू पनि भ्याइनभ्याइ हुन्थ्यो । यो बेला महाबौद्ध तथा न्यूरोडको कुनाकुनाका मानिसको भिडले खुट्टा टेक्ने ठाउँ हुँदैन्थ्यो । तर, यो वर्ष कोरोनाको त्रास तथा आर्थिक स्थितिले गर्दा बजारमा मानिसको भिड कम र व्यापारमा निकै कम भएको छ,’ उनले भने ।

‘कोरोनाले गर्दा करिब ८ महिना जति बन्दाबन्दीमा बस्दा पनि विद्युतीय सामानको खरिद बिक्री भएको थिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘विगतको दिनमा तिहारमा झिलिमिली बत्ती बिक्री हुँदा राम्रो व्यापार हुन्थ्यो । तर यो वर्ष कोरोनाले गर्दा व्यापारीमा उत्साह देखिएको छैन ।’

कोरोनाको समयले गर्दा व्यापार हुने समयमा पनि व्यापार नहुने चिन्ताले व्यवसायीहरू निराशाजनक भएको उनको बुझाइ छ ।

त्यस्तै, यो वर्ष बजारमा व्यवसायीहरूसँग झिलिमिली बत्तीको मौज्दात पर्याप्त भएकाले पनि आयातमा कम भएको उनको भनाइ छ । साथै, बजारमा माग नभएकाले केही व्यवसायीले आयात गरेको छ भने केही व्यवसायीले आयात नगरेको उनले बताए ।

महासंघका अनुसार एकातिर केरुङ नाकामा महिनौँदेखि सामान अड्किएर बसेको छ भने अर्कोतर्फ व्यवसायीसँग नयाँ सामान खरिद गर्ने रकम नभएपछि तिहारमा बत्ती कम आयात भएको जनाएको छ ।

मूल्यमा नबढ्ने

कोरोना महामारीकै समयमा नेपालीहरूको महान चाड तिहारमा आवश्यक सामानको आयात कम भएसँगै झिलिमिली बत्तिको मूल्य नबढ्ने भएको छ ।

गत वर्षको सामान पनि मौज्दातमा धेरै रहेकाले नयाँ ल्याउने सामानको पनि खासै मूल्य नबढ्ने देवकोटाले जानकारी दिए । उनका अनुसार कोरोनाले विगतको जस्तो सामान किन्न नसक्ने अवस्था रहेकाले तिहारकै माहोललाई लक्षित गरी मूल्य नबढ्ने बताए ।

बजारमा तिहारलक्षित विभिन्न प्रकारका लाइट भित्रिने गर्दछ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट बिक्री हुने गर्दछ ।

उक्त लाइटहरूको करिब एक सयदेखि २५ हजारसम्मको मूल्यमा बिक्री हुने गरेको उनको भनाइ छ ।

साथै, यो वर्षमा आयात भएको बत्तीको पनि त्यही अनुसार मूल्य कायम गरेको महासंघको भनाइ छ । यसले गर्दा विगतको जस्तो यो वर्षको तिहारमा फजुल खर्च नगर्ने अनुमानका साथ बजारमा आयात कम र मूल्य नबढ्ने उनले दाबी गरे ।

नेपालमा अधिकांश तिहारलाई आवश्यक बत्तीलगायत अन्य विद्युतीय सामान चीन र भारतबाट आयात हुन्छ । चीनबाट करिब ७० प्रतिशत र भारतबाट ३० प्रतिशत विद्युतीय सामग्री आयात हुने गरेको महासंघले जनाएको छ ।


क्लिकमान्डु