संघर्षरत ‘रिबोक’ बिक्री गर्ने तयारीमा एडिडास



जर्मन स्पोर्टस ब्राण्ड एडिडासले लामो समयदेखि संघर्ष गरिरहेको यसको ब्राण्ड ‘रिबोक’लाई बिक्री गर्ने तयारी गरेको छ । केही वर्षयता व्यापारमा संघर्षरत रिबोकलाई बिक्री गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एडिडासले सन् २०२१ को मार्चसम्ममा बिक्री गर्ने तयारी गरेको हो । हाल एडिडासले बिक्रीका लागि गोप्य सम्झौता समेत गरिरहेको समाचारमा जनाएको छ ।

एडिडासका सीइओ कास्पर रोस्टेडले कोरोना महामारी अघि नै २ बिलियन युरो (२.४ बिलियन डलर) अर्थात् १ खर्ब ७७ अर्ब रुपैयाँमा बिक्री गर्ने तयारी गरेका थिए ।

रिबोक खरिद गर्नका लागि भीएप कर्पले चासो देखाएको छ । उक्त कम्पनीले टिम्बरल्यान्ड, नर्थफेस जस्ता ब्राण्डसँगै चीनमा रहेको एन्टा इन्टरनेशनल ग्रुप होल्डिङसमा समेत लगानी गरेको छ ।

रिपोर्ट अनुसार हाल एडिडासको सेयर ३.२ प्रतिशतले बढेको छ । तर कम्पनीका प्रवक्ताले ब्लुमर्गसँग बजार हल्लामा आफूले कुनै प्रतिक्रिया नदिने बताए ।

अडिडासले ३.८ बिलियन डलरमा सन् २००६ मा खरिद प्राप्ती गर्नु अघि बोस्टनमा हेडक्वाटर रहेको रिबोक विश्वको तेस्रो ठूलो स्पोर्टिङ सामान बनाउने ब्राण्ड थियो ।

तत्कालिन समयमा एडिडासले अमेरिकी बजारमा नाइकी जस्ता अमेरिकाका ठूला ब्राण्डसँग प्रतिष्पर्धा गर्नका लागि खरिद गरेको थियो । तर पछिल्लो समयमा रिबोकको बिक्री घट्दै गएको थियो ।

जब दुई ठूला ब्राण्डहरु एडिडास र रिबोक एकैठाउँमा आए त्यसपछि सम्बन्ध अपेक्षाकृत भएन ।

फाइनान्सियल टाइम्सले भने प्रमिरा र ट्रिटोन जस्ता कम्पनीले रिबोक ब्राण्ड खरिदमा चासो देखाएको समाचार लेखेको छ । यद्यपि उनीहरुको यो योजना भने प्रारम्भिक चरणमै छ ।

एडिडास कम्पनीका चिफ फाइनान्सियल अफिसर हार्म ओह्लमेयरले गत मार्चमा आफूहरु रिबोकको सन् २०१९ मा २ प्रतिशत वृद्धिदरबाट सन्तुष्ट नभएको बताएका थिए ।

सन् २०२१ को मार्च महिनासम्ममा एडिडासले रिबोकका सम्बन्धमा ५ वटा योजना अगाडि सार्ने तयारी गरेको छ । जसमध्ये बिक्रीका लागि लगानीकर्ता सामू योजना प्रस्तुत गर्ने समेत हुनेछ ।
–एजेन्सी


क्लिकमान्डु