एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्यमा कोरोनाबारे जनसचेतना फैलाउने



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसबाट बच्नका लागि जनसचेतना फैलाउने भएको छ ।

कम्पनीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।

कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने ३ मुख्य उपाय अबलम्बन गर्ने जनाएको छ ।

जसमा व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाइएको छ ।

यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘विषम् परिस्थितिमा, स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं ।’

उनले एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको बताए ।

कोरोना जस्तो संकटको सामना गर्नका लागि विभिन्न सरोकारवालासँगको सहकार्य आवश्यक पर्ने बताउँदै उनले सबै एकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्घको अभियानमा ठूलो सहयोग पुग्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भने, ‘पूरै विश्व नै यस स्वास्थ्य संकटको विषम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामुलक कार्यहरुले प्रमुख भूमिका राख्दछ ।

कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सराहना गर्दछौं ।’

गौतमले कोरोना भाइरसको महामारीको प्रतिकार्यका लागि पूरा विश्वमा नै सरकारहरु, एनसेल जस्ता निजी क्षेत्रहरु र युनिसेफ जस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागि कार्यहरु गरिरहेको बताए ।

हालको अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य भएको उनले बताए ।

‘कोभिड–१९ बालबालिका, परिवार तथा पूरै विश्वभरका समूदायका लागि सार्वजनिक स्वास्थ्य संकटको रुपमा छ । यनिसेफले नेपाल सरकारसँगको सहकार्यमा यस महामारीसँग लड्न काम गरिरहेको छ र एनसेल जस्ता विभिन्न निजी संस्थाहरुसँगको सहकार्यले कोरोना विरुद्घको अभियानमा वास्तवमै ठूलो महत्व राख्दछ । विशेषत यस संकटको समयमा मानिसहरुलाई कोरोनाबाट बच्ने महत्वपूर्ण सन्देशहरु प्रवाहमा गरिएको सहयोग निकै महत्वपूर्ण छ,’ नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले भनिन् ।

कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्घि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै वर्गमाझ यीे सन्देशहरु पुर्याउने काम गरिरहेको छ ।

कोराना संक्रमणबाट बच्न र बचाउन यी सन्देशहरु एनसेलले आमसञ्चारका विभिन्न माध्यमबाट समाजका हरेक तह र तप्कासम्म पुर्याउने काम गरिरहेको छ ।

कोरोना भाइरस विरुद्घको पहल अन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु १० करोड योगदान गरेको थियो ।

यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द«लाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पुर्याउँदै आएको छ ।


क्लिकमान्डु