देशदर्शनले १२ करोडमा शुरु गर्यो बससेवा, पर्यटकीय गन्तव्य जोडेर प्याकेज ल्याउँदै



काठमाडौं । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले देशदर्शन प्रालिले काठमाडौंदेखि देशका विभिन्न पर्यटकीय गन्तव्यसम्म बससेवा शुरु गरेको छ । पर्यटकस्तरीय २१ वटा बसबाट हाल उक्त सेवा शुरु गरिएको छ ।

कम्पनीका कार्यकारी निर्देशक श्रीकान्त आचार्यका अनुसार हाल उक्त सेवा काठमाडौंदेखि ५ वटा गन्तव्यमा शुरु भएको छ । कम्पनीले गत असोज १ गते काठमाडौं–पोखरामा बस सञ्चालन गरी सेवा शुरु गरेको थियो ।

‘हाल काठमाडौंदेखि पर्यटकीय गन्तव्यहरु पोखरा, भैरहवा, वीरगञ्ज र जनकपुरमा सेवा शुरु गरिसकेका छौं, भने चितवनमा कात्तिक २४ गतेदेखि शुरु गर्दैछौं,’ उनले भने ।

उनका अनुसार चितवन–पोखरा रुटमा पनि पर्यटक स्तरीय बससेवा शुरु हुनेछ भने कम्पनीले काठमाडौं–मुक्तिनाथका लागि पनि सेवा शुरु गर्ने तयारी गरेको आचार्यले क्लिकमाण्डूलाई जानकारी दिए ।

पर्यटकीय गन्तव्यलाई लक्षित गरेर सेवा शुरु गरिए पनि पर्यटक बाहेकका अन्य यात्रुले सेवा नपाउने भन्ने छैन । कम्पनीले हाल सबैले टिकट काटेर स्तरीय यात्रा गर्न सक्ने जानकारी दिएको छ । साथै आगामीमा दिनमा पर्यटकलाई लक्षित गरेर प्याकेज पनि ल्याउने तयारी कम्पनीले गरेको आचार्यले बताए ।

पर्यटकीय सर्किट जोडेर प्याकेजको तयारी
कम्पनीले केही समयपछि विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकका लागि प्याकेज समेत ल्याउने तयारी गरेको छ ।

‘काठमाडौंदेखि चितवन, पोखरा, भैरहवा, मुक्तिनाथलगायतका गन्तव्यलाई समेटेर पर्यटकका लागि प्याकेज ल्याउने तयारी गरिरहेका छौं, यसले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास छ,’ आचार्यले भने ।

कोरोना महामारीका कारण यतिबेला पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । विदेशी पर्यटक आउन पाएका छैनन् तर आन्तरिक पर्यटनमा केही चहलपहल शुरु भइसकेको छ । लामो समयदेखि प्रभावित पर्यटन क्षेत्रलाई उकास्नका लागि पनि यस्ता प्याकेज सहयोगी हुने आचार्यको विश्वास छ ।

१२ करोड लगानी
कम्पनीमा २०औं वर्षसम्म पर्यटन क्षेत्रमा काम गरिरहेका अनुभवी ९ जना व्यवसायीहरुको लगानी छ । भारतमा बनेका यी पर्यटक बस, कार्यालय स्थापना तथा सेवा प्रवाहमा हालसम्म १२ करोड रुपैयाँ लगानी भएको आचार्यले जानकारी दिए ।

‘लामो समयदेखि पर्यटन क्षेत्रमै विभिन्न कम्पनीमा काम गरेका व्यक्तिहरुको लगानी भएकाले देशदर्शन कम्पनीहरुको पनि कम्पनी हो,’ उनले भने ।

उनका अनुसार हाल कम्पनीमा प्रत्यक्षरुपमा ७० जनाले रोजगारी पाएका छन् ।

‘२१ वटा बसमा २ जनाका दरले ४२ जना, विभिन्न ६ वटा गन्तव्यमा ३ जनाका दरले १८ जना र काठमाडौंको कार्यालयमा १० जना गरी कुल ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्,’ उनले भने ।

अनलाइनबाटै टिकट
कम्पनीले बसको टिकट अनलाइनबाटै काट्ने व्यवस्थ मिलाएको छ । कम्पनीका अनुसार कम्पनीको देशदर्शन मोबाइल एप डाउनलोड गरेर टिकट काट्न सकिन्छ भने देशदर्शन कम्पनीको वेवसाइटमा गएर तथा बससेवा एपबाट पनि टिकट काट्न सकिन्छ । साथै आगामी दिनमा विभिन्न वालेटबाट पनि टिकट काट्ने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।

कुन गन्तव्यको कति भाडा ?
कम्पनीले सबैलाई सर्वसुलभ हुने गरी विभिन्न गन्तव्यको भाडा तय गरेको बताएको छ । जसमध्ये हाल काठमाडौं–भैरहवाका लागि ९०० रुपैयाँ तोकेको छ । तर सोफा भएको बसमा भने यात्रुले १५ सय रुपैयाँ तिर्नुपर्ने हु्न्छ । तर १५०० रुपैयाँको शुल्क घटाएर १३०० रुपैयाँसम्म कायम गर्ने योजना कम्पनीको छ ।

त्यसैगरी कम्पनीले काठमाडौं–चितवनका लागि ७५० रुपैयाँ, काठमाडौं जनकपुरका लागि ८५० रुपैयाँ, काठमाडौं–वीरगञ्जका लागि ८५० रुपैयाँ र काठमाडौं पोखराका लागि ८०० रुपैयाँ भाडा निर्धारण गरेको छ ।

यात्रुले बसमा यात्रा गर्दा फूल एयरकन्डिसन, गुणस्तरीय पानी, टेलिभिजनको सुविधा पाउनेछन् ।

बसहरु विभिन्न गन्तव्यका लागि काठमाडौंको बौद्धबाट छुट्नेछन् । बौद्धमा कम्पनीले ग्यारेज तथा पार्किङस्थल समेत राखेको छ ।

स्वास्थ्य प्रोटोकल
कम्पनीले कोरोना भाइरसको महामारीको जोखिमबाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर सेवा प्रवाह गर्नेछ । हाल कम्पनीले सबै तयारीका साथ सेवा दिइरहेको छ ।


क्लिकमान्डु