कर्मचारीलाई फोन लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा, कुन बैंकबाट कतिमा पाइन्छ ?



काठमाडौं । पछिल्लो समय बैंकहरुले कर्मचारीहरुलाई फोनमार्फत् नै कर्जा योजना ल्याउने क्रम बढ्दो छ । असोजको पहिलो साता नबिल बैंकले फोन लोन योजना सार्वजनिक गरेपछि तलब खाताका ग्राहकलाई फोनमार्फत् लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा हुन थालेको हो ।

कोरोना संक्रमणका जोखिम न्यूनिकरणका लागि हरेक क्षेत्रले व्यवसाय डिजिटल बनाउँदै गएका छन् । डिजिटलाइजेसनमा अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र अगाडि छ ।

अन्तराष्ट्रिय प्रविधि बैंकिङ क्षेत्रले भित्राएर प्राय कारोबार डिजिटल प्रयोगमा पुरा गरेपनि कर्जा सम्बन्धी कारोबारका लागि अझै पनि ग्राहकलाई बैंककै काउण्टरमा पुग्नु पर्ने बाध्यता छ । तर पछिल्लो समय केही वाणिज्य बैंकहरुले तलबी खाता ग्राहकलाई घरमै बसी बसी कर्जा दिन मिल्ने योजना सार्वजनिक गरेका छन् ।

बैंकमा तलबी खाताका ग्राहकले आवश्यकतामा जहाँ र जस्तो अवस्थामा पनि इन्टरनेटको पहुँचमा भएको ठाँउबाट मोबाइलबाटैे आवेदन दिँदा कर्जाको रकम खाता जम्मा हुने व्यवस्था नबिल बैंक, कुमारी बैंक र एनएबी बैंकले गरेका हुन् । साथै, एभरेष्ट बैंकले समेत तलबी खाताका ग्राहकलाई फोनबाटै कर्जा योजना ल्याउने तयारी गरेको बैंकले जानकारी दिएको छ । अन्य बैंक समेत यसको तयारीमा रहेका छन् ।

कुनैपनि संघ संस्था तथा रोजगारदाता प्रतिष्ठानहरुले बैंकहरुमा आफ्ना कर्मचारीको तलबी खाता खोलेको भएमा मात्र कर्मचारीले लोनको आवेदन दिन पाउँछन् । जसमा बैंकहरुले ग्राहकको खाता शुरु भएको समयावधि, खातामा पैसा जम्मा हुने र बचत हुने प्रवृतिको अध्ययन विश्लेषण गरेर मात्र बिना धितो कर्जा स्वीकृत गर्छन् । साथै तलबी खाता भएको बैंकबाट फोन लोन लिनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर खराब कर्जा नभएको र कालोसुचीमा नपरेको हुनु पर्नेछ ।

कार्यालयबाट तलब बुझ्नु अगावै कर्मचारीहरुलाई आइपर्ने आर्थिक संकटमा सहयोगी बन्न फोन लोन योजना सार्वजनिक गरेका यी बैंकहरु कसरी र कतिसम्म कर्जा दिन्छन्, त्यसमा हामीले प्रकाश पारेका छौँ

नबिल बैंक : 

नेपालमा सबैभन्दा पहिले नबिल बैंक घरमा नै बसी बसी आवेदन दिएर कर्जा दिन मिल्लने योजना ल्याएको हो । असोजको पहिलो साता सार्वजनिक भएको नबिल फोन लोन बैंकमा तलबी खाता हुने कर्मचारी ग्राहकहरुका लागि हो ।

तबली खाता भएका कर्मचारीलाई १ महिनाको लागि २.५ प्रतिशत ब्याजदरमा १ लाख रुपैयाँसम्म कर्जा फोनमार्फत नै दिइरहेको छ । जसमा नबिल बैंकमा तलबी खाता भएको कर्मचारी ग्राहकले नबिल स्मार्ट बैंकिङ प्रयोगबाट ‘भर्चुअल क्रेडिट कार्ड’को प्रयोग गरी एक पटकमा १ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

एनएमबी बैंक : 

तलबी खाता सुरु गरेको ३ महिना पुरा गरेका कर्मचारी ग्राहकलाई ट्रम लोन डिजिटल प्रविधिमार्फत् बैंकले प्रवाह गरिरहेको छ । बैंकले न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्म ०.७५ प्रतिशत सेवा शुल्क कटाएर बार्षिक सापटी दिने बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मीले बताए ।

‘फोन लोनभन्दा हामीले ल्याएको योजना फरक छ,’ रेग्मीले क्लिकमाण्डूसँग भने, ‘यसमा तलबी खाता भएका ग्राहकको बचत र खर्च गर्ने बानी, कालो सुचीको विवरण हेरेर कर्जाका लागि योग्य ग्राहकलाई बैंकले नै आवेदन दिन म्यासेज गर्छ ।’

जसमा कर्जाको आवेदन दिने लिंक समेत बैंकले पठाउने र ग्राहकले आवश्यक पर्ने लोनको परिमाण आवेदन फर्म भर्नु पर्ने उनले जानकारी दिए ।

कर्जाको आवश्यकता पर्ने ग्राहकले हप्ताको ७ दिनै आवेदन दिएपनि कर्जाको प्रक्रिया शुरु हुने उनले रेग्मीले बताए । कर्जाको आवेदन दिएपछि तत्कालै  कर्जा स्वीकृत भएर आवेदकको खातामा जम्मा हुने बताइएको छ ।

बैंकले सुरु गरेको डिजिटल ट्रम लोनमा विभिन्न संघ संस्था तथा रोजगारदाता प्रतिष्ठानले बैंकमा आफ्ना कर्मचारी खाता खोलेका भएमा  एनएमबी डिजिटल ट्रम लोनका लागि योग्य हुनेछन् । जसमा तलबी खाता बाहक कर्मचारीले स्थापी प्यान नम्बर लिएको हुन पर्नेछ ।

बैंकले प्राप्त कर्जाको आवेदन हेरी ब्याजदर, साँबा ब्याजको भुक्तानी अवधि र समय तय गर्नेछ । जसमा बैंकले अधिकमतम बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम लिने रोशन रेग्मीले बताए ।

‘ग्राहक र बैंकको आपसी सम्झौतामा ब्याजदरमा थपघट हुन्छ भने कर्जा लिएको ३ महिनादेखि २४ महिनासम्म ग्राहकले मासिक इएमआईमार्फत् भुक्तानी गर्न सक्छन् ।’ उनले थपे ।

निकट भविश्यमा नै बैंकका सम्पुर्ण खातावाला ग्राहकलाई अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल ट्रम लोन प्रवाह गर्ने तयारीमा बैंक रहेको उनले जानकारी दिए ।

कुमारी बैंकः

तलबी खाता भएका ग्राहकलाई सरल र सहज कर्जाको सुविधा दिन बैंकले कात्तिक तेस्रो साता फोन लोन योजना सार्वजनिक गरेको छ । बैंकमा तलबी खाता भएको ग्राहकहरुले ३० दिनसम्मका लागि अधिकतम १ लाखसम्म  १ महिनाको लागि फोनबाटै लोन लिन सक्नेछन् । घरमा नै बसी बसी फोनबाट बिना धितो कुनै निवेदन र कानूनी कागजात नचाहिने बैंकले बताएको छ ।

वार्षिक १२ प्रतिशत ब्याजदरमा १ लाख रुपैयाँसम्म कर्जा ग्राहकले बैंकबाट लिन सक्नेछन् । कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत ग्राहकले कर्जाको आवेदन दिनु पर्नेछ । ग्राहकले दिएको फोन लोनको आवेदन र ग्राहकले खातामा रकम जम्मा गर्ने र खर्च गर्ने प्रवृतिको अध्ययन गरी बैंकले कर्जा स्वीकृत गरी ग्राहकको खातामा जम्मा गर्छ । कर्जाको प्रोसेसिङ शुल्क बैंकले १.२५ प्रतिशत तोकेको छ । साथै, ग्राहकले १ महिनाभन्दा धेरै समयमा कर्जा भुक्तान गरेमा ३ सय रुपैयाँ विलम्ब शुल्क लिने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु