सार्क राष्ट्रमा बिटक्वाइन जस्तै ‘भर्चुअल कमन करेन्सी’ प्रचलनमा ल्याउन गभर्नर अधिकारीको प्रस्ताव



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा ‘डिजिटल कामन करेन्सी’ प्रचलनमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सन् २०२०का लागि सार्क फाइनान्स ४०औं भर्चुअल ग्रुप मिटिङमा बुधबार सहभागी भएका गभर्नर अधिकारीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘डिजिटल कामन करेन्सी प्रचलनमा ल्याउन सार्क फाइनान्सस्तरमा अध्ययन गर्नु पर्ने बेला आएको छ,’ अधिकारीले भने ।

उक्त मिटिङमा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत सहभागी थिए ।

संसारका धेरै देशमा भर्चुअल करेन्सीले बैधानिकता पाएको छ । तर, नेपालमा भने यस्तो मुद्रालाई प्रतिवन्ध लगाइएको छ । विटक्वाइन संसारकै सबैभन्दा प्रचलित भर्चुअल करेन्सी हो ।

जसरी यूरोपका देशहरुले यूरोलाई कमन करेन्सीको रुपमा प्रचलनमा ल्याएका छन्, त्यसरी नै सार्क राष्ट्रहरुले पनि भर्चुअल कमन करेन्सी प्रचलनमा ल्याउनुपर्ने गभर्नर अधिकारीको राय हो ।

बैठकमा उनले कोेभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा वृद्धि भएको र यसले वित्तीय पहुँचमा वृद्धि हुने धारणासमेत राखेका छन् ।

सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड-१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनीकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा चर्चा गरेका थिए ।


पुष्प दुलाल