ब्रोकरको कमिशन घटाउनुको बिकल्प छैन, केही समयमै घट्छः सेबोन अध्यक्ष ढुंगाना



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले ब्रोकर कमिशन घटाउनुको बिकल्प नभएको बताएका छन् ।

अध्यक्ष ढुंगानाका अनुसार ब्रोकर कमिशन दशैँअघि नै टुंग्याउने गरी काम भएको भए पनि कोरोनाका कारण पछि धकेलिएको बताए ।

उनका अनुसार बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा ब्रोकर कमिशन घटाउन अध्ययन समिति नै बनेको थियो । उक्त समितिको प्रतिवेदन तयार भइसकेको उनको भनाइ छ ।

प्रतिवेदन तयार भएपनि त्यसमा बोर्ड, नेप्से, ब्रोकर, लगानीकर्तासँग छलफल गर्न खोजेपनि कोरोनाले रोकिएको उनको भनाइ छ । कोरोनाको कहरमा कमी आउनासाथ यो काम सकिहाल्ने उनको दाबी छ ।

‘अध्ययनको प्रतिवेदन आयो, प्रतिवेदन आउनासाथ सबै कुरा हुँदैन’ ढुंगानाले भने ‘यसमा हामीले छलफल गरेर बोर्डबाट पास गराउनेछौं ।’

अहिले लगानीकर्ताहरुले अहिलेको कमिशन०.४ देखि ०.६ प्रतिशतसम्म तिर्दै आएका छन् । त्यसलाई घटाएर ०.२५ प्रतिशत माग गरिरहेका छन् ।

‘लगानीकर्ताहरुले सकेसम्म न्यूनतम कति हुन्छ त्यो नै भन्ने हो, उहाँहरुले ०.१५ किन भन्नु भएन ? उहाँहरुले ०.२५ भन्नु भएको छ,’ उनले भने ‘त्यो भन्दा कम भन्यो भने पत्याउँदैनन भनेर भन्नु भएको होला, ०.६० लाई घटाएर उपयुक्त स्थानमा लगिन्छ ।’
त्यसका लागि कोरोना कहर केही मात्रामा न्युन हुनै पर्ने अध्यक्ष ढुंगानाको भनाइ छ ।

सेयर बजारको दोस्रो कारोबार पूर्णअनलाइन हुँदा पनि ब्रोकर कमिशन नघटेको भन्दै लगानीकर्ताले कमिशन घटाउन माग गरिरहेका छन् ।

लामो समयदेखि ब्रोकर कमिशन घटाउन माग हुँदै आएकोमा अनलाइन कारोबार शुरु भएलगत्तै कमिशन घटाउन पुनः माग बढेको हो ।

लकडाउन अघि ब्रोकर कार्यालयबाट काम गर्नुपर्दा वा लगानीकर्ता ब्रोकरको कार्यालयमा पुग्दा उनीहरुको खर्च बढ्ने गरेको थियो ।

अहिले पूर्णरुपमा अनलाइन कारोबार हुन थालेपछि चेक बोकेर बैंकमा जानु नपर्ने, क्लियरिङ शुल्क तिर्नु नपर्ने लगायतका कारण ब्रोकर कमिशन घटाउनु पर्ने लगानीकर्ताको माग रहेको छ ।

अहिले ब्रोकर कार्यालयमा पहिलो जस्तो ढड्डा राखेर गर्ने काम प्रविधिले घटाएसँगै उनीहरुको खर्च समेत घटेको छ ।

हाल लगानीकर्ताले ब्रोकर, सेबोन, नेप्से, सिडीएससीलाई कमिशन तिर्नुपर्छ । लगानीकर्ताहरुले सेबोनको कसिशन समेत घटाउन माग गरिरहेका छन । यता नेप्से प्रविधिमैत्री भएपछि उसको लगात घटने भन्दै कमिशन घटाउन माग गरिएको छ ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ता अनलाइनमार्फत घरबाटै कारोबार गर्ने हुँदा ब्रोकर कमिशन तत्काल घटाउनु पर्ने बताउँछिन् ।

खर्च पनि विस्तारै कम हुँदै गएको भन्दै उनले अब ब्रोकर कमिशन घटाउनुको विकल्प नभएको उनको तर्क छ । यो विषयमा बोर्डमा पटक पटक आग्रह गर्दा पनि बोर्डले नटेको उनको तर्क छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पनि ब्रोकर कमिशन घटाउन सुझाव दिएको थियो । त्यो सुझाव अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

यता धितोपत्र दलाल व्यवसायीहरुले लगानीकर्ताले दुई चार दिनको कारोबार रकमलाई हेरेर कमिशन घटाउन नसकिने बताउँदै आएका छन् ।

केही समयको कारोबार साइज हेरेर भन्दा पनि दीर्घकालीन रुपमा कसरी जान्छ भनेर हेर्ने आवश्यक रहेको धितोपत्र दलाल व्यवसायीको भनाइ छ ।

ब्रोकरको कमिशन घटाउने हो भने १ वर्षको वा ६ महिनाको औसत कारोबार हेरेर, कति ब्रोकरले कति कमाएका छन त्यो हेरेर निर्धारण गर्नु पर्ने ब्रोकरको माग रहेको छ ।

लगानीकर्ताले आफ्नो लगानीको १५ वा २० प्रतिशत आउने हो भने कमिशन घटाउँदा कुनै समस्या नहुने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटको भनाइ छ ।


पुष्प दुलाल