मुकेश अम्बानीको जिओले धरासायी भएको माइक्रोमेक्स, मोदीको आत्मनिर्भर नीतिबाट उठ्ने तयारीमा
सन् २०१४ मा माइक्रोमेक्स मोबाइल भारतमा दोस्रो सबैभन्दा बढी बिक्ने मोबाइल फोन थियो । १८ प्रतिशत बजार हिस्साको साथ अगाडि बढेको माइक्रोमेक्सले इन्डियन ब्राण्ड मोबाइल फोनमा भारत हुँदै विश्वमा नै आफुलाई अगाडि लैजाने अनुमान थियो ।
तर,त्यो अनुमान गलत नै भयो । सन् २०१० मा भारतीय मध्यमवर्गले आफ्नो मोबाइल फोन स्मार्ट फोनमा परिवर्तन गर्ने तयारीमा थियो । तर,बजारमा उपलब्ध भएका फोन समसङ,एलजी,सोनी लगायतका मोबाइल फोनको मूल्य बढी थियो । अर्थात भारतीय निम्न मध्यम र मध्यम वर्गले खर्च गर्न सक्ने भन्दा बढी ।
त्यो बेला माइक्रोमेक्सले नयाँ आइडिया लियो । चीनबाट एसेम्बल गरेर ल्याउने र भारतीय बजारमा बेच्ने । ६ हजार रुपैयाँ मा नै माइक्रोमेक्सले स्मार्टफोन उपलब्ध गराउन थाल्यो । त्यो बेला राम्रो स्मार्टफोन २० हजारभन्दा सस्तो मूल्यमा पाइने अवस्था थिएन ।
सस्तो मूल्यमा दुईवटा सिम चल्ने स्मार्टफोन दिएर एउटा त्रैमासमा सामसङभन्दा बढी बिक्री हुने रेकर्ड माइक्रोमेक्सले राख्यो ।
रिचर्स तथा नयाँपन बिना चीनमा गएर माइक्रोमेक्सले भारतीय बजार आफ्नो बजार कब्जा गरेको थियो ।
सन् २०१४ पछि भारतीय बजारमा चिनियाँ मोबाइल फोन साओमी,वनप्लस भित्रिए । त्यसपछि सामसङले पनि बजेट मोबाइल फोन लन्च गर्यो ।
सन् २०१६ मा भारतीय अर्बपति मुकेश अम्बानीले टेलिकम क्षेत्रमा क्रान्तीको सुरुवात गरे । अम्बानीको रिलायन्स जिओ फोरजी सेवा सहित बजारमा आयो । जसले अरु मोबाइल सेवा प्रदायक कम्पनीलाई धरासायी बनायो भने सँगै भारतीय मोबाइल कम्पनी माइक्रोमेक्स कम्पनी समेत धरासायी बन्यो ।
यसको कारण थियो माइक्रोमेक्सले टुजी र थ्रीजीमात्र चल्ने मोबाइल फोन बिक्री गरिहरेको थियो । जसको बजार हिस्सा ग्रामिण क्षेत्र र सहरउन्मुख क्षेत्रमा थियो । मुकेश अम्बानीको रिलायन्स जिओले निशुल्क डाटा र भ्वाइस कल थियो । सन् २०१६ सम्म भारतमा मोबाइल सेवा प्रदायकबाट इन्टरनेट चलाउन धेरै महंगो थियो ।
फोरजी इन्टरनेट निशुल्क दिएपछि भारतीय उपभोक्ताले माइक्रोमेक्सलाई छाडेर साओमी ब्राण्डमा आक्रर्षित भए । सन् २०१६ मा नै साओमीले भारतीय बजारमा फोरजी चल्ने स्मार्ट फोन लन्च गरिसकेको थियो ।
माइक्रोमेक्सको व्यवस्थापकले फोरजी प्रविधि भारतमा यती छिटो विस्तार हुन्छ भनेर आकलन गर्न नै सकेको थिएन । उसँग टुजी र थ्रीजी मोबाइल फोन सेट नै अत्याधिक थियो ।
भारतीय बजारमा त्यसपछि चिनियाँ ब्राण्ड ओप्पो र भिभो फोन समेत भित्रियो । जसले गर्दा माइक्रोमेक्स कम्पनी धरासायी नै भयो ।
माइक्रोमेक्सको स्थापना टेक्नोलोजी कम्पनीको रुपमा राजेश अग्रवालले स्थापना गरेका थिए । तर,माइक्रोमेक्समा लगानीकर्ताको रुपमा राहुल शर्मा २००० मा भित्रिएपछि कम्पनी सफलताको रुपमा अगाडि बढ्न थालेको हो ।
नयाँ दिल्लीमा मध्यमवर्गिय परिवारमा जन्मेका राहुल शर्माले व्यवसायको सुरुवात आफ्नो बुवासँग ३ लाख रुपैयाँ पैसा लिएर व्यवसायमा हात हालेका थिए । सस्तो र ब्याट्री धेरै टिक्ने स्मार्टफोनको कारण भारतीय बजार सहित दक्षिण एशियामा पाएको सफलता भने शर्माले टिकाउन सकेनन् ।
माइक्रोमेक्सले आगामी मंगलबारदेखि नयाँ स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । माइक्रोमेक्सको युटुव च्यानलमा यसका सहसंस्थापक राहुल शर्माले आफुले गरेको गल्तीको कारण भारतीय बजारमा चिनियाँ मोबाइल फोनको कब्जामा गएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा भारत र चीनबीचको सम्बन्ध निकै सहज थियो । चिनियाँ लगानीकर्ता ब्राण्डको भारत निकै नै ठूलो बजार हो । तर,सन् २०२० को सुरुवातसँगै भारत र चीनको सिमानामा निकै तनावको स्थिती छ । जसले गर्दा दुई देशका सैनिकको समेत मृत्यु भयो ।
सिमानामा भएको विवादपछि भारतले आत्मनिर्भर अर्थतन्त्र अन्तर्गत चिनियाँ एप्समाथि प्रतिबन्ध नै लगायो । जसको असर अहिले भारतीय बजारमा चिनियाँ मोबाइल स्मार्ट फोनलाई समेत भएको छ । भारतको लोकप्रिय क्रिकेट प्रतियोगिता आइपीएलले चिनियाँ स्मार्टफोन ओप्पोसँगको साझेदारीले तोड्ने निर्णय गर्यो । चीनसँग बढेको तनावको कारण अहिले सामसङ भारतमा बढी बिक्ने स्मार्ट फोनमा एक नम्बरमा पुगेको छ । चीनको साओमी दोस्रो स्थानमा छ ।
माइक्रोमेक्सले आइएन ब्राण्डमा ल्याउन लागेको फोनलाई राष्ट्रवादसँग जोडेर बेच्न थालेको छ । राष्ट्रवाद र मोदीको आत्मनिर्भर अर्थतन्त्रले माइक्रोमेक्सको रिब्रान्डिङ सफल होला त्यो समयले नै बताउने छ ।