चर्को आलोचना भएपछि राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर ह्यान्डल बन्द गरियो



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको ट्विटर खाता बन्द गरिएको छ ।

राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टिकाप्रसाद ढकालले प्राविधिक समस्या देखिएका खाता बन्द गरिएको जानकारी दिए ।

‘राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु,’ ढकालले भनेका छन् ।

राष्ट्रपति कार्यालयको नयाँ ह्यान्डल पुरानो प्यारोडी अकाउन्ट भएको भन्दै चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा आलोचना भएसँगै उक्त भेरिफाइड ह्यान्डल बन्द गरिएको हो ।
सन् २०१८ मा बनाइएको उक्त खाता पहिले अन्य प्रयोजनका लागि प्रयोग भएको भन्दै प्रयोगकर्ताहरुले आलोचना गरेका थिए ।

राष्ट्रपति कार्यालय जस्तो सम्मानित संस्थाले यसरी गम्भीर त्रुटी गरेको आलोचकहरुको भनाइ थियो ।

यसअघि गलत सूचना सम्प्रेषण भएको भन्दै प्रधानमन्त्री कार्यालयको भेरिफाइड फेजबुक पेज पनि बन्द गरिएको थियो । तत्कालिन समयमा लकडाउन सम्बन्धि सूचना निर्णय हुनु अगावै दिइएको तर पछि उक्त निर्णय नभएपछि सूचना डिलिट गरिएको थियो । त्यसपछि चर्को आलोचना भएपछि भेरिफाइड पेज नै बन्द गर्नु परेको थियो ।


क्लिकमान्डु