एक वर्षदेखि लगानीकर्ताको सम्पती बन्धक बनेको शिव श्री हाइड्रोको कारोबार खुला



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कात्तिक ७ गते सूचीकृत भएको शिव श्री हाइड्रोपावरको सेयर कारोबार बुधबारदेखि खुला भएको छ ।

हाईड्रोले कारोबारकाे लागि न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म ओपन रेञ्ज पाएको छ । हाइड्रोपावरले गत साल असोज १६ देखि कात्तिक १५ गतेसम्म ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

७ लाख २० हजार ६ सय ४० कित्ताका लागि मात्र आवेदन परेको थियो भने २६ लाख ३० हजार ५ सय कित्ता बिक्री हुन सकेको थिएन । बिक्री नभएको सेयर अण्डरराइट मुक्तिनाथ क्यापिटल र सीबीआइएल क्यापिटलले सकारेका थिए ।

यी दुई क्यापिटलले सेयर सकार्न नखोज्दा लगानीकर्ताको लगानी एक वर्षदेखि बन्धक बनेको थियो । एक वर्षपछि बुधबारबाट उक्त कम्पनीको कारोबार खुलेको हो । नबिकेको सेयर अन्तिम सयममा यी दुवै क्यापिटलले सकारेका थिए ।


क्लिकमान्डु