सरकारी अस्पतालमा उपचार गराउनेको कोरोना बीमाको रकम सरकारले लिने



काठमाडौं । सरकारले कोरोना बीमा गरेका व्यक्तिको बीमांक रकम लिने निर्णय गरेको छ ।

यदी संक्रमितले बीमा गरेको र सरकारी अस्पतालबाट उपचार गराएको भए बीमितको उपचारमा लागेको खर्च भन्दै बीमांक रकमबाट लिने निर्णय गरेको हो ।

आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बीमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

जससँगै कोरोना बीमा गराएर सरकारी अस्पतालमा उपचार गराइरहेका संक्रमित बीमितहरुले समेत लागेको खर्च दावी भुक्तानीबाट प्राप्त रकमबाट भुक्तानी गर्नुपर्ने भएका छ ।

साथै, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने प्रवक्ता गौतमले बताए ।

यसअघि संक्रमण परीक्षणदेखि उपचारसम्मको सबै खर्च सरकारले व्यहोर्दै आएको थियो । संक्रमण पुष्टी भएका व्यक्तिहरुले उपचारको लागि खर्च गर्नु परेको थिएन ।

यसअघि सरकारी अस्पतालमा कोरोना संक्रमितले उपचार गराएपनि बीमा रकम वापतको रकम पाउने व्यवस्था थियो ।

कोरोना बीमा वापत १ लाख ५० हजारको बीमांक रकम पाउने व्यवस्था छ । पछिल्लो समय बीमा दाबी भुक्तानीमा भने निकै ढिलाई हुने भएको छ ।


पुष्प दुलाल