कामदारमा कोरोना देखिएपछि रोकियो माथिल्लो दोर्दी ए को निर्माण



काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो ।

आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए ।

आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विदुतगृहको काम बाँकी छ । हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ ।

आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म थियो ।

निर्माण लम्बिँदा लागत ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । शुरुमा ३ अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ ।

आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विदुतगृहमा झारिने छ ।आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।रासस


पुष्प दुलाल