ऊर्जा उद्यमीलाई ४५ प्रतिशत पेनाल्टी तिर्नुपरेपछि ताते ऊर्जामन्त्री, सोलु करिडोरको अवरोध हट्यो



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको हस्तक्षेपपछि सोलु करिडोर प्रसारण लाइन निर्माणमा देखिएको अवरोध अब भने हट्ने भएको छ ।

प्रसारण लाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले सुपर सिक्स अन्तर्गतका आयोजना मध्ये एकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको परेको छ ।

मन्त्री पुनले सम्बन्धित पक्षलाई बोलाएर सो प्रसारण लाइनमा देखिएको समस्या समाधान गर्र्ने उपायसहित निर्देशन दिएका हुन् ।

१३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम जसरी पनि अगाडि बढाउने र स्थानीयबासीले उठाएको माग सम्बोधन गर्न के कसरी सकिन्छ भन्नेमा समेत ध्यान दिएर अगाडि बढ्न मन्त्री पुनले आयोजनाका पदाधिकारीलाई मन्त्री पुनले निर्देशन दिए ।

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिदै आएको छ ।

स्थानीयबासीले प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर काममा अवरोध गर्दै आएका थिए ।

मन्त्री पुनले उदयपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमलाई मन्त्रालयमा बोलाएर छलफल गरी समस्या समाधानको पहल गरेका हुन् ।

मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने र स्थानीयबासीलाई विश्वासमा लिएर काम गराउने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री पुनले सरकार जनताका जायज चासो सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा सरकार रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए ।

मन्त्री पुनले लामो समयदेखि रोकिएको प्रसारण लाइन निर्माणको कामले गति लिने भएपछि आफूलाई सन्तोष मिलेको उल्लेख गर्दै भने ‘ आयोजनाको काम अगाडि बढाउने लामो समयदेखिको मेरो प्रयास अहिले आएर सार्थक भएको छ, मलाई यसमा सन्तोष छ ।’

सांसद राईले स्थानीयका समस्या करिब समाधान भएको बताए । ऐलानी जग्गाको मुआब्जा दिने गरी अवरोध हटाउने सहमति भएको उनको भनाइ छ ।

नगर प्रमुख श्रेष्ठले स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रीबाट आएको उल्लेख गरे । ‘ ऊर्जा मन्त्रीसँग राम्रो कुराकानी भयो । हामीले स्थानीयका तर्फबाट उठेका मागबारे अवगत गरायौ’ श्रेष्ठले भने ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि« प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोलाको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।

त्यसमध्ये ९५ प्रतिशत अधिकांश काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार कुल ३०२ वटा टावरमध्ये २८८ वटाको निर्माण सम्पन्न भइसकेको छ । कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक सो प्रसारण लाइन निर्माणको अवरोध हटाउन पहल गरेपनि समस्या समाधान हुन सकेको थिएन ।


पुष्प दुलाल