कर्जा उठाउन आक्रामक बन्दै राष्ट्रिय वाणिज्य बैंक, तीन दर्जन ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक पछिल्ला दिनमा ऋण उठाउन आक्रामक देखिएको छ ।

बैंकले भाखा नाघेका ऋणीहरुलाई ऋण तिर्न आउन भन्दै सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न १२ शाखाका ३६ ऋणीलाई  ऋण तिर्न आउन भनेको हो ।

बैंकका विभिन्न शाखा कार्यालय मार्फत कर्जा सुविधा लिएका तर कर्जाको भाखा नाघेका ऋणी, फर्म, कम्पनी, सञ्चालक, प्रोपाइटर, व्यक्तिगत तथा संस्थागत जमानतदाता समेतलाइृ कर्जा भुक्तानी गर्न सम्पर्क पत्राचार गर्दा कतिपय अवस्थामा पत्र फिर्ता आएको , कतिपयले बैंकको अनुरोधलाई अस्वीकार गरेको पाइएको छ ।

बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले कर्जा लिएको शाखामा सम्पर्क गर्न भनेको छ ।

सो अवधिभित्र ऋणको साँवा, व्याज र अन्य दस्तुर समेत भुक्तानी गर्न भनेको छ । सो समयभित्र सम्पर्क नगरेमा धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी बैंकले आफूले लिनुपर्ने रकम उठाउने जनाएको छ ।

यस्तै तोकिएको समयमा कर्जा भुक्तानी नगरेको खण्डमा ऋणीलाई कालोसूचीमा राखिने समेत बैंकको सूचनामा उल्लेख छ ।


पुष्प दुलाल