कोरोना भाइरस: नोट र मोबाइल फोनमा २८ दिनसम्म बाँच्ने
कोरोना भाइरस नोट लगायत मोबाइल फोन तथा स्टीलजस्ता सतहमा २८ दिनसम्म बाच्न सक्ने एउटा अनुसन्धान सार्वजनिक भएको छ ।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको अनुसन्धानले नोट र मोबाइल फोनमा २८ दिनसम्म भाइरस सक्रिय हुने पत्ता लागेको हो । परावैजनी वा अल्ट्राभायोलेट किरणले मात्र भाइरसलाई मारिदिने अनुसन्धानकर्ताको निष्कर्ष छ ।
‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ,’ उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले भने ।
अष्ट्रेलियामा भएको यो अनुसन्धान बारेमा कतिपयले भने शंका व्यक्त गरेको छन् । सामान्यतया कोरोना भाइरस मानिसहरुले खोक्दा,हाँच्छियू गर्दा र माक्स नलगाएर सँगै बोल्दा सर्ने गर्छ ।
यसअघि भएको अनुसन्धानमा प्लास्टिक तथा स्टीलमा दिनदेखि ६ दिनसम्म भाइरस सक्रिय हुने देखिएको थियो ।
अस्ट्रेलियालाको सीसीरोले गरेको अध्ययनले मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको पाइएको थियो ।
कतिपय विज्ञले भने यसलाई अनावश्यक त्रासको रुपमा मात्र फैलाइएको बताएका छन् । कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर आम मानिसमाझ अनावश्यक त्रास मात्र फैलाउने काम गरेको बताए ।