नेपाल महिला चेम्बर र सोचेको डटकमबीच समझदारीपत्रमा हस्ताक्षर, महिला उद्यमीबाट उत्पादित सामान सोचेको डटकममा पाइने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच ई–कमर्स सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरको तर्फबाट चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमको तर्फबाट सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले हस्ताक्षर गरेका छन् ।

चेम्बरका सभापति श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसँग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको व्यापार अभिवृद्धि गर्न सोचेको डटकम पोर्टल माध्यमबाट एकीकृत रूपमा पोर्टलबाट उत्पादित सामान बिक्री वितरण गर्न लागिएको बताए । उनका अनुसार यो व्यवस्थाले प्रभावकारी हुने अपेक्षा गरेको जानकारी दिए ।

‘चेम्बर र डटकमबीचको समझदारीले महिला व्यवसायीहरूको व्यापार वृद्धि हुने र हाल कोभिड–१९ को सन्दर्भमा डिजिटल मार्केटिङको सम्भावना र सम्भाव्यता अझ बढी रहेको छ,’ श्रेष्ठले भने, ‘यसबाट सबै आम उपभोक्तालाई स्वास्थ्य दृष्टिले र आर्थिक दृष्टिले समेत लाभान्वित हुनेछ ।’

डटकमका प्रबन्ध निर्देशक लोहनीले यस अनलाइन सपिङमार्फत विभिन्न उत्पादन तथा विक्रेताहरूको उत्पादनलाई बिक्री वितरण मद्दत गर्ने तथा तिनका उत्पादनहरूलाई बजारीकरण समेत गर्दै आएको बताए ।

नेपालको प्रविधि क्षेत्रको अग्रणी संस्था मेगाटेक ग्रुप प्रबर्धक रहेको यस कम्पनीले नेपाली उद्यमशील युवाहरूबाट सञ्चालित तथा पूर्ण रुपमा नेपाली लगानीमा सञ्चालित अनलाईन सपिङहरू मध्ये अग्रणी स्थानमा रहेको बताए ।

समझदारीपत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डटकमको वेबसाईटमा राखिने, वेबसाईट सम्बन्धि तथा डिजिटल मार्केटिङको तालिम उपलब्ध गराउने, उत्पादनहरूको फेसबुक लगायतका विभिन्न माध्यमहरुबाट विज्ञापन गर्ने, उद्यमीहरुको आवश्यक गर्ने ब्राण्ड मेनेजमेन्ट लगायतका तालिम उपलब्ध गराउने, जिल्लाका उद्यमीहरूलाई योजनामा सामेल गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु