८ करोड लागतमा २ वटा पार्क बन्दै, चावहिल चोकमा तयार भयो फलामे आकाशे पुल
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा ६ मा मात्रै ८ करोड रुपैयाँ लागतमा २ वटा पार्क निर्माण भइरहेको बताएका छन् ।
बधुबार आकाशे पुलको उद्घाटन, वडा भवन र पार्क निर्माणस्थलको अवलोकनपछि यस्तो जानकारी गराएका हुन ।
वडा ७ चावहिल चोकमा आकाशे पुलको उद्घाटनपछि मेयर शाक्यले वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्क, वडा ७ को मचागाः पार्कको अवलोकन गरेका हुन् ।
बागमतीनगर र शान्ति नमूना पार्क निर्माण स्थलको अवलोकन गरेपछि उनले भने ‘महानगरका क्षेत्रगत काममध्ये आजको अवलोकन यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापन, पार्क निर्माण र हरियाली प्रत्रर्धन कार्यक्रममा केन्द्रीत छ ।’
खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले हामीले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने अभियान थालेका हौं । मेयर शाक्यले भने ‘सहरको अर्को ठूलो समस्या भनेको ट्राफिक व्यवस्थापन, पैदल यात्रु सुरक्षा र पार्किङ् व्यवस्थापन हो ।’
पैदल यात्रु सुरक्षाका लागि आकाशे पुल निर्माण गरिरहेका छौं । पिक एण्ड ड्रप लगायत अभियानबाट ट्राफिक व्यवस्थापनमा प्रयास गर्दैछौंं ।
मेयर शाक्यले, पार्किङ् व्यवस्थापनको प्रसङ्ग उठाउँदै कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ् भवन महानगरले बनाउने बताए । ‘म तपाईमार्फत सबैमा आव्हान गर्न चाहन्छु । जग्गा भए वडामार्फत महानगरमा प्रस्ताव लिएर आउनोस्’ उनले भने ।
आकाशे पुलको संख्या थपिँदै
फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ रहेको छ । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो ।
२०७६ कात्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन । जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।
आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।
यो सँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यका अनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । यो आवश्यकता पनि हो । उनले भने ‘माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य बिभिन्न ठाउँमा निर्माण गर्दैछौं’ उनले भने ।
वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ । प्रक्रिया यसका लागि प्रक्रिया अगाडि बढाइने बताए । ‘आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ’ उनले भने ।