महानगरमा अनलाइनबाट राजस्व तिर्नेको संख्या बढ्यो, साढे ५ करोड संकलन



काठमाडौं । काठमाडौं महानगरपालिका भित्र अनलाइनबाट ५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

असोज १ गतेदेखि १० वटा वडाबाट सुरु भएको र हाल सबै वटामा अनलाइन राजस्व तिर्नेकाम सुरु भएको छ । यो अवधिमा अनलाइनबाटै उक्त राजस्व संकलन भएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले यस बर्ष राजस्वमा वृद्धि हुनेमा आफू आशावादी भएको बताए ।

अनलाइन प्रणाली सञ्चालन गर्दा कस्ता समस्या देखिए ? समस्याको समाधान कसरी भयो ? समाधान हुन नसकेको समस्याबाट उत्पन्न जोखिम कस्ता छन् ? वडाका अधिकारीको अनुभव सुन्न आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन ।

‘कर्मचारीको क्षमता बिकास गरेर, कर्मचारीले नभ्याएको काम सघाउन बाह्य जनशक्तिको प्रयोग गरेर, इन्टरनेटको क्षमता बढाएर, प्रबिधिमा लगानी बढाएर जे—जे गर्नुपर्छ गरौं । यस अघि करदाताको विवरण कम्प्युटरमा नभएकोले शुरुवातमा केही असजिलो देखिएको छ । सबै मिलेर यो असजिलोको सामना गरौं’ उनले भने ‘भोलि कर्मचारीले सेवाग्राहीको भीडमा असिनपसिन भएर काम गर्नू पर्दैन । करदाताले धाएर महानगरमा पुग्नु र भीडमा बसेर पैसा तिर्नु पर्दैन । पैसा तिर्ने नागरिकलाई सुबिधा दिएर पैसा लिउँ ।’

महानगरको प्रशासन बिभाग प्रमुख नमराज ढकालले कोरोना भाइरसको कारण काम नभएका बिभाग र आयोजनामा फुर्सदमा रहेका कर्मचारीलाई वडामा खटाउँने बताए । संघ सरकारबाट महानगरमा आउन चाहने केही सहायक स्तरका कर्मचारीलाई आउन सहमति दिएको र उनीहरुलाई पनि वडामा खटाएर अहिले भएको अप्ठ््यारोलाई कम गराउन प्रयास गरिरहेको उनको भनाइ छ ।

राजस्व संकलनमा पारदर्शी नभएको काठमाडौं महानगरलाई आरोप थियो । तर राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले ‘प्रारम्भिक चरणका समस्या र तिनको समाधानका लागि अपनाइएका उपायलाई सिकाइका रुपमा लिनुपने बताए ।

यो प्रणाली सांग्रिला इन्फरमेटिक्सले विकास गरेको हो । असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइयो । यसै गरी असोज १३ गतेदेखि वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइयो ।

प्रणालीमा अहिले जे जति व्यवस्था राखिएका छन् । ती व्यवस्थााबाट राजस्व निर्धारण र संकलन गर्न बाधा छैन । त्यसो त यसमा सुधार गर्नु पर्ने विषय पनि छन् । छलफलमा वडा तहबाट आएका समस्या र गुनासा सुनिसकेपछि सांग्रिला एन्फोटेक्सका अध्यक्ष बसन्त वनले भने ‘बुझाइमा एकरुपता ल्याउन सकियो भने प्रणाली कार्यान्वयनमा सहज हुनेछ । तालिम दिने, परामर्श दिने तथा वडामै गएर सिकाउने कुरामा हामी सहयोग गर्छौं । यीमध्ये बढी प्रभावकारी हुने ठाउँलाई रोजौं र सबै मिलेर प्रणाली सञ्चालनमा सहजता ल्याउँ ।’


क्लिकमान्डु