सरकारी कर्मचारीलाई तलब र दशैं खर्च दिदा चार दिनमा २३ अर्ब खर्च



काठमाडौं । काठमाडौं । सरकारले चार दिनमा नै २३ अर्ब रुपैयाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यलयको तथ्यांक अनुसार सरकारले असोज १५ गतेदेखि १८ गतेसम्म सरकारले २३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ खर्च गरेको हो ।

एक सातायता भएको सरकारको खर्चमा सबैभन्दा बढी कर्मचारीलाई तलब र दशै पेश्कीमा खर्च भएको महालेखा नियन्त्रक कार्यलयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए ।

‘केही विकास निमार्णका काममा पनि खर्च भएका छन् तर केही दिनयता सबैभन्दा बढी कर्मचारीको दशै पेश्कीमा सरकारको पैसा खर्च भएको छ,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने, ‘निजामति कर्मचारीलाई तलब, पेन्सनमा अहिले बढी रकम निकासा भइरहेको छ ।’

दशैंमा सरकारी कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम खर्चको रुपमा दिने गरिन्छ । यस्तै पेन्सन खाने अवकास प्राप्त कर्मचारीले पनि एक महिनाको वापतको रकम दशैं खर्च वापत बुझ्ने गर्छन् ।

चार दिनमा नै २३ अर्ब रुपैयाँ बढी खर्च भएपनि सरकारको आम्दानी खर्च धान्ने गरी नै भएको उनले जानकारी दिए ।

सरकारले असोज १५ गते ८ अर्ब २४ करोड २४ लाख रुपैयाँ, असोज १६ गते ९ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ, असोज १७ गते १० करोड ६३ लाख रुपैयाँ र असोज १८ गते ४ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले एक साता अघि राष्ट्र बैंकमार्फत् २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।


क्लिकमान्डु