कोरोनाले थलिएको रङ्गरोगन व्यवसायमा दशैंतिहारमा पनि छैन् उत्साह



काठमाडौं । लामो समयको बन्दाबन्दी तथा निषेधाज्ञाले थलिएको रङ्गरोगन कम्पनीहरूमा दशैंतिहार नजिकिँदै गर्दा पनि कुनै उत्साह देखिएको छैन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन र निषेधाज्ञापछि असोज १ गतेदेखि सबै खालका उद्योग सञ्चालनमा छन् । साथै, दशैंतिहार नजिकिँदै गर्दा सबैभन्दा बढी व्यापार हुन्थ्यो । तर, कोरोनाले गर्दा दशैंतिहार आउँदा पनि रङ्गरोगन कम्पनीहरूमा कुनै उत्साह नदेखिएको रङ्गरोगन कम्पनीहरूले बताएका छन् ।

कोरोना महामारीका कारण बजारमा ९० प्रतिशतले माग कम भएको रङ्रोगन उत्पादक संघले जनाएको छ । संघका अनुसार दशैंतिहारमा केही मात्रामा भएपनि अपेक्षा राखेकोमा अहिले अपेक्षा गरेभन्दा पनि नाजुक अवस्था रहेको महासंघका अध्यक्ष विश्वप्रकाश शाख बताउँछन् ।

यस्तै, नेपालमा उत्पादन हुने रङरोगन कम्पनी बर्जर, एशियन पेन्ट्स, पशुपति, एपोलोलगायत अन्य कम्पनीहरूमध्ये बर्जर र एशियन पेन्ट्सले मात्रै दशैंतिहार लक्षित योजना सार्वजनिक गरेका छन् । तर, अन्य कम्पनीहरूले भने यो वर्ष दशैंतिहार लक्षित कुनै पनि अफर सार्वजनिक नगर्ने योजना बनाएको कम्पनीहरूले बताएका छन् ।

कोरोनाले थलिएको रङ्रोगन कम्पनीहरूले अवस्था खुकुलो बनाएपछि ग्राहकहरूलाई आकर्षित गर्नको लागि बर्जर एशियन पेन्ट्सले दशैंतिहार योजना सार्वजनिक गरेका छन् । उक्त अवधिमा विगतको तुलनाको जस्तो बिक्रि नभएता पनि व्यवसाय चलायमान बनाउनको लागि योजना सार्वजनिक गरेको व्यवसायीहरूको भनाइ छ ।

आर्थिक मन्दीले खाना, लाउन समस्या भइरहेको अवस्थामा घर सजाउने भन्ने कुरा दोस्रोमा परेको हुनाले ग्राहकहरूको उत्साह कम भएको उनीहरूको बुझाइ छ । तर, यो दशैंको अवधिमा केही मात्राले बढेपनि व्यवसाय सहज हुने उनीहरूले दाबी गरेका छन् ।

बर्जर र एशियन पेन्ट्सको यस्तो छ योजना ?

बर्जरः बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले महानचाड दशैंतिहारको अवसरमा आफ्ना ग्राहकलाई ‘बर्जर कलर स्पलास’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले एक सय वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लेखित ब्राण्डहरु खरिद गर्नु पर्नेछ ।

कम्पनीका अनुसार विजेताले ५ लाख रूपैयाँसम्म पुरस्कार पाउने छन् । त्यस्तै, २ जनालाई २ लाख, ५ जनालाई ५० हजार र सामसङ मोबाइल सय जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

उपभोक्ताहरूले बर्जर पेन्टले रँगाइएको घरका फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कारहरू जित्न सक्नेछन् ।

घरधनीहरूले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् । यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अलगार्ड एक्सपी, वेदर कोट अलगार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्कलक्जरी, इजिक्लिनएक्सपी र इजिक्लिनमा लागू गरिएको कम्पनीले जनाएको छ ।

एशियन पेन्ट्स : एशियन पेन्ट्स नेपालले दशैंतिहार लक्षित ‘रङ्गको उत्सव, दशैं महोत्सव’ योजना सार्वजनिक गरेको छ । उक्त योजनामा ग्राहकहरूलाई ग्यारेन्टीको साथ विभिन्न उपहार र लक्की ड्रमार्फत मेगा पुरस्कार जित्ने अवसर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले लक्की ड्रको लागि योग्य हुनको लागि १ लाख रुपैयाँ वा सो भन्दा बढीको एशियन पेन्ट्सको उत्पादनहरू खरिद गर्नुपर्ने छ । जसमा कम्पनीले स्योरसट्सट गिफ्टमार्फत २ हजार छुट दिने भएका छन् ।

त्यस्तै कम्पनीले लक्की ड्रमार्फत एक जनालाई २०० सीसीको ब्रान्डेड बाइक, एक जनालई स्कुटर, एक जनालाई स्मार्ट एलइडी टिभि ६५ र ७० जनालाई ट्यालेट प्रदान गर्ने भएको छ । यो योजना असोज ३० गतेसम्म मात्रै रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, इपोलो पेन्ट्स नेपालले विगतको वर्षहरूमा विभिन्न अफर सार्वजनिक गर्दै आएकोमा यो वर्ष भने कुनै योजना सार्वजनिक नगर्ने भएका छन् ।

एपोलो कम्पनीको आधिकारिक डिलर काठमाडौंमा रहेका सञ्चालक नन्दलाल केसीका अनुसार कोरोना महामारीका कारण व्यापारै नभएको अवस्थाले गर्दा यो वर्ष कुनै पनि योजना सार्वजनिक नगर्ने योजनामा रहेको बताए । ‘संधै दशैतिहार नजिकिँदै गर्दा सबैभन्दा बढी व्यापार हुन्थ्यो । तर, यो वर्ष कोरोनाले गर्दा आर्थिक मन्दी खेपिरहेको अवस्थामा मानिसले रङ्गरोगनको सामान कम किन्ने भएकाले कुनै योजना नल्याउने भएको हो ।’

त्यसैगरी जस्मिन पेन्ट्स, कन्साई नेरोल्याक पेन्ट्स कम्पनीले डिलरहरूलाई मात्रै बोनसलगायत अन्य योजना प्रदान गरेको कम्पनीले जनाएको छ । तर, ग्राहकहरूलाई भने यो वर्ष कुनै विशेष योजना नबनाएको उनीहरूको भनाइ छ ।

साथै, विगतको तुलनामा ग्राहकहरूको फ्लो पनि निकै कम भएकाले योजना सार्वजनिक गरेता पनि कुनै अर्थ नरहेको उनीहरूको भनाइ छ । त्यसैगरी बिक्री हुने सिजनमै व्यापार नभएपछि निकै कठिन अवस्था भोग्नुपरेको व्यवसायीहरूले बताएका छन् ।


क्लिकमान्डु