अब पनि व्यापार व्यवसाय नचलाउने हाे भने अवस्था भयाभय हुन्छः शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अब सुरक्षाका मापदण्ड अपनाएर व्यापार व्यवसाय शुरु गर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै गोल्छाले व्यवसाय अनुसार प्रोटोकल बनाएर व्यापार व्यवसाय सञ्चालन गर्नैपर्ने बताए ।

‘हरेक व्यवसायका लागि प्रोटोकल फरक हुनसक्छ । हरेक व्यवसायका लागि प्रोटोकल बनाउनु पर्छ । स्कुलका लागि, सिनेमाका लागि, फनपार्कका लागि पनि फरक प्रोटोकल हुन सक्छ । अब व्यापार चलायमान गराउनुको विकल्प छैन,’ उनले भने ।

उनले र लकडाउन र निषेधाज्ञाका कारण ९६.७ प्रतिशत व्यापार व्यवसायले ७५ प्रतिशत व्यापार कम बताए । लकडाउनका कारण हाल बेरोजगारी दर ३ गुाणाले बढेर ६.१ प्रतिशत पुगेको बताउँदै यसले भविष्यमा भयाभय अवस्था आउन सक्ने बताए ।

उनले अब सकारात्मक सोचका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड बनाएर व्यापार व्यवसाय चलायमान गराउनुको विकल्प नभएको बताए । उनले त्यसो नगर्ने हो भने यसले दूरगामी असर पर्ने बताए ।

उनले अहिले ४४ लाख अनौपचारिक क्षेत्रमा काम गरिरहेका कामदार भविष्य अनिश्चित रहेको भन्दै अवस्था अझ गम्भीर हुन सक्ने बताए । मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने दायित्व सरकारको भएकाले त्यसमा पनि सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए ।

‘हामी रेमिट्यान्समा धेरै भर परेका छौं, हालसम्म त त्यसमा असर परेको छैन तर सन् २०२२ मा बल्ल लकडाउनको असर देखिने विश्वव्यापीरुपमा प्रक्षेपण भइसकेको छ । त्यसका साथै मनोवैज्ञानिकरुपमा जसरी नसकारात्मक असर परेको छ । यसका लागि हामी तयार हुनुपर्छ । हामी यसबाट कसरी बच्ने हो त्यसमा ध्यान दिनु जरुरी छ,’ उनले भने ।


क्लिकमान्डु