टिकटक प्रयोगकर्ता बढ्दा ४० प्रतिशतले बढ्यो इन्टरनेट खपत



काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाको समयमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको पाइएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण आम मानिस घरमै बन बाध्य भएका कारण इन्टरनेटको खपतमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रियामा इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा उपभोक्ताको रुची र प्रयोग फेरिएको बताए ।

पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदायकलाई व्याण्डविथ व्यवस्थापनमा धौ धौ परेको उनले बताए ।

टिकटकका कारण इन्टरनेटमा समस्या आएको भन्दै त्यसको समाधानका लागि समेत उनले नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानकर्षण गराए ।

प्राधिकरणका निर्देशक विजयकुमार रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताए ।

नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गर्नुपर्ने बताए ।

धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

उनले कोषको रकम ग्रामिण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए । हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ ।

ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको उनले संकेत गरे । उनले कोभिडका समयमा सरकारसंग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए ।

उनले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुलशिक्षा, स्वाथ्य सामाग्रि, कोभिड सम्वन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका कार्यहरु गरेको बताए ।


पुष्प दुलाल