लकडाउन र निषेधाज्ञा मात्रै उपाय होइनः जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेको सुझाव



काठमाडौं । जनस्वास्थ्यका विज्ञले कोरोना भाइरसले समय अनुसार नै आफ्नो स्वरुप परिवर्तन गर्ने भएकाले स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सामान्य पार्नुपर्ने सुझाव दिएका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि खोप नआउँदासम्म जोखिम रहने भएकाले जनजीवनलाई सहज बनाएर दैनिक जीवनयापन गर्नुको विकल्प नभएकामा उनीहरुको जोड छ ।

जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेले कोरोनासँग जोडिएका केही तथ्यहरुको बारेमा जानकारी दिँदै केही सुझाव समेत दिएका छन् । उनले लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नका लागि २/३ हप्ता मात्र लगाउनुपर्ने विकल्प भएको बताएका छन् ।

उनले अब यसलाई अन्त्य गर्नुपर्ने र गास, बास तथा कपासको व्यवस्था हरेक नागरिकलाई गर्नुपर्नेमा जोड दिए ।

उनको सुझाव उनकै भाषामा
अब जनजीवन सहज बनाऔं । हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ । मनोसामाजिक असर देखा परिरहेको छ ।

हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं । कोरोना संक्रमण सामान्य महामारी हो यो खोप नआएसम्म रहनसक्छ । तसर्थ यसलाई सरलिकृत बनाऔं । ८५.५ प्रतिशत संक्रमितलाई आफै वा साधारण उपचारले निको भएको छ । बाँकी १०.५ प्रतिशतलाई लाक्षणिक उपचारले ठीक हुन्छ भने ५.५ प्रतिशतलाई आइसीयु, अक्सिजन तथा भेन्टिलेटर चाहिनसक्छ । मृत्यु सरदर २.३५ प्रतिशत मात्रै छ । नेपालमा हाल करिब १.५ प्रतिशत मृत्युदर छ ।

हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं । अज्ञानको पछि नलागौं । आफू क्लियर नभएको कुरा सेयर गरेर, विदेशी संस्थालाई गाली गरेर वा नभएका विदेशी उदाहरण दिएर लापरवाही नगरौं ।

भाइरस परिवर्तनशील हुन्छ । यसले स्वरूप परिवर्तन गरिरहन्छ । यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ ।

नोबेल कोरोना भाइरस नयाँ हो । यसको धेरै अध्ययन हुन बाँकी नै छ । यसको परिवर्तनशील स्वरूपको कारण डब्ल्यूएचओ, सिडिसी र एफडिए वैज्ञानिकहरु, विज्ञहरु तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो ।

भाइरस निकै ट्रिकी हुन्छ भाइरसको ट्रिकिपन अनुसार कदम चाल्नुपर्ने हुन्छ । तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन । पहिले इटलीमा ९.५ प्रतिशत मृत्युदर थियो भने अहिले निकै कम छ ।

एउटा देशको उदाहरण अर्को देशसँग मिल्दैन । तसर्थ यसको व्याख्या आधिकारिक निकाय र विज्ञबाट हुन्छ । त्यसलाई विश्वास गरौं ।

कसको उद्देश्य के हुन्छ, हामीलाई थाहा हुँदैन । नबुझिकन अरुको गोटी नबनौं यसले हामीलाई फाइदा गर्दैन विज्ञानको विश्वास गरौँ । अज्ञानको होइन ।

सरकारले लकडाउन वा निशेधाज्ञा खुला गर्नुपर्छ । रोजगारी बढानुपर्छ । उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस् । डुबेका साना व्यापारीलाई वैकल्पिक व्यवस्था हुनुपर्छ । न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस् ।

आम नागरिकले घरबाहिर जाँदा अनिवार्यरुपमा सही तरिकाले मास्कको प्रयोग गरौं । व्यक्तिगत दुरी कायम गरौं । हात सफा गरौं । भीडभाड नगरौं । यत्ति गर्यौ भने यो महामारी नियन्त्रण हुन्छ ।

हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ ।

हामीले यी उपाय अबलम्बन गरेनौं भने संक्रमण तीव्र गतिमा बढ्छ । हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ । हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ । तसर्थ एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गर्नुपर्छ । यसका लागि आफै सुरक्षित रहनुपर्छ ।

विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं । सिक्नु पनि पर्छ । हामी अरुको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरुले साथ दिँदैनन् हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन् । उनीहरुलाई प्रोत्साहित गरौं ।

अनावश्यक विषयमा बहस गरेर आफूलाई तनावमा नपारौं । त्यसको कुनै अर्थ छैन । केही सीप सिकौं । उत्पादनमा लागौं ।

विश्वका धेरै देशमा जनजीवन सहज भएको छ । जनता अनुशाशित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दुरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ ।

महामारी एकैपटक संसारभर फैलिएको नयाँ रोगको प्रकोपलाई भनिन्छ । यसमा मृत्युदर थोरै र धेरै हुनुको अर्थ हुँदैन ।

विकसित देशमा भएका आन्दोलनसँग हाम्रो तुलना नगरौं । त्यहाँ बिरामी भए सरकारले सबै हेर्छ यहाँ हामीले आफै हेर्नुपर्छ । हामी सबैको सामूहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौं । खोप आएपछि महामारीको अन्त्य हुनेछ ।


क्लिकमान्डु