प्रशासनको सूचनापछि सुनसान उपत्यका सडकमा बढ्यो सवारी चाप, फोटोफिचर



काठमाडौं । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको सोमबार ५औं दिन पुग्यो । पहिलो तीन दिनसम्म सुनसान भएका सडक आइतबारदेखि भने सडकमा चहलपहल शुरु भएको छ ।

कोरोना भाइरसको जोखिम अत्यधिक बढेसँगै उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी गरेको भोलिपल्ट बिहीबार अत्यावश्यक भनिएको बैंक तथा वित्तीय संस्था खुल्ने भनिए पनि कर्मचारीलाई बाटोमै रोकिएपछि उक्त दिन बैंक तथा वित्तीय संस्था बन्द भएका थिए । त्यसको असर शुक्रबारसम्म पनि जारी रह्यो ।

तर आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कार्यालयको परिचय पत्रका आधारमा हिँड्न पाउने भनेपछि चहलपहल शुरु भएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमले जानकारी दिए ।

‘आइतबार प्रशासन कार्यालयले अत्यावश्यक सेवा अन्तर्गतका मेडिकल पसल, पानी र स्वास्थ्य सामग्री सेवा खुला रहने निर्णय गरेसँगै सोमबार सडकमा सवारी साधनको चाप देखिएको हो,’ उनले भने ।

त्यसका साथै बैंकका कर्मचारी कार्यालय जानु पर्ने भएकाले सवारीको चाप बढेको उनको भनाइ छ । हाल उपत्यकामा रहेको प्रत्येक बैंकका ४ वटा शाखा खुला छन् । यस हिसाबले पनि सवारी साधनको चाप बढेको उनको भनाइ छ ।


क्लिकमान्डु