तनहुँ जलविद्युत् आयोजनाः पहिलो प्याकेजमा पटक पटक बोलपत्र, ३ कम्पनी छानिए



तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि ३ कम्पनीले चासो देखाएका छन् ।

आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा ३ कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्यांकन सकेर स्वीकृतिका लागि एशियाली विकास बैंक (एडिबी) पठाइएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।

‘गत असार २३ गते (जुलाई ७) सम्म तीनवटा कम्पनीले बोलपत्र पेश गरेका थिए’ भण्डारीले भने ‘प्राविधिक मूल्यांकन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छाैं ।’

उनका अनुसार अगष्टभित्रै एडिबीबाट स्वीकृत भएर आउने अनुमान छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो ।

पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि ४वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले ४ वटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाको ‘केवल टनेल’को काम शनिबार मात्रै पूरा भएको थियो । केवल टनेलको १८८ मिटर काम सम्पन्न भएको र अब विद्यृतगृह निर्माणको काम शुरु गर्ने तयारी गरिएको छ ।

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत्गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता भएको थियो ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ ।

आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर व्योहोर्ने छ ।


क्लिकमान्डु