विश्वबजारमा डलरको प्रभुत्व कमजोर भइरहेका बेला चीन र रुसले चाले यस्तो रणनीति

1k
Shares

अमेरिकी डलरको पहिचान अन्तर्राष्ट्रिय मुद्राका रुपमा छ । अन्तर्राष्ट्रिय व्यापारमा डलर र युरो निकै लोकप्रिय तथा स्वीकार्य छन् ।

संसारका अधिकांश देशका केन्द्रीय बैंकमा जम्मा हुने कुल विदेशी मुद्राको भण्डारनमा अमेरिकी डलरको हिस्सा ६४ प्रतिशत छ । यस्तोमा डलर आफै एक अन्तर्राष्ट्रिय मुद्रा बनिसकेको अवस्था छ ।

डलर अन्तर्राष्ट्रिय मुद्राका रुपमा यसको प्रभुत्व नै बलियो अमेरिकी अर्थव्यवस्थाको प्रतिक बनेको छ ।

इन्टरनेसनल स्ट्यान्डर्ड अर्गनाइजेसन सूचीका अनुसार विश्वभर कृुल १८५ मुद्रा छन् । यद्यपि यसमा धेरै जसो मुद्राको प्रयोग आफ्नो देशभित्र मात्रै सीमित छ । कुनै पनि मुद्रा विश्वभरमा कुन हदसम्म प्रचलित छ भन्ने उक्त देशको अर्थव्यवस्था तथा शक्तिमा निर्भर हुन्छ ।

संसारमा दोस्रो बलियो मुद्रा युरो हो । जुन विश्वभरका केन्द्रीय बैंकको विदेशी मुद्रा भण्डारणको आधारमा हेर्दा १९.९ प्रतिशत हो ।

सर्वविधितै छ कि डलरको बलियो उपस्थिती उसको स्वीकार्यता र अमेरिकी अर्थव्यवस्थाको बलियो पक्षलाई दर्शाउँछ । कुल डलरको ६५ प्रतिशत डलरको प्रयोग अमेरिकाभन्दा बाहिर हुन्छ ।

हाल विश्वभर ८५ प्रतिशत व्यापारमा डलर संलग्न छ । विश्वभर ३९ प्रतिशत कर्जा डलरमा दिइएको आँकडा छ । त्यसैले विदेशी बैंकहरुको अन्तर्राष्ट्रिय व्यापारमा डलरको आवश्यकता हुन्छ ।

यस्तोमा डलरमा आफ्नो निर्भरता कम गर्नका लागि रुस र चीन यतिबेला एकसाथ अगाडि बढिरहेका छन् । विशेषज्ञका अनुसार यसले दुई देशबीच वित्तीय गठबन्धन हुन सक्ने आँकलन गरेका छन् ।

डलर अन्तर्राष्ट्रिय मुद्रा किन भयो ?
सन् १९४४ मा ब्रिटेन वुड्स सम्झौतापछि डलरको उपस्थिति बलियो हुँदै गएको हो । त्यसभन्दा अघि धेरैजसो देशमा केवल सुनलाई मानक मानिथ्यो । ती देशका सरकारहरुले सुनको मागका आधारमा मुद्राको मूल्य आधार तय गर्दथे ।

न्यू ह्याम्पसर ब्रिटेन वुड्समा विश्वका विकसित देशहरु मिलेर अमेरिकी डलरको तुलनामा सबै मुद्राको विनिमय दर तय गरेका थिए । उक्त समय अमेरिकासँग सुनको भण्डारण सबैभन्दा धेरै थियो । यो सम्झौताले अन्य देशलाई पनि सुनको स्थानमा आफ्नो मुद्रालाई डलरको समर्थन गर्ने अनुमति दिइएको थियो ।

सन् १९७० को शुरुवातमा कैयन देशहरुले डलरको साटो सुनको माग शुरु गरेका थिए । किनभने उनीहरुलाई मुद्रास्फितीसँग लड्नु जरुरी भएको थियो । तत्कालीन समयमा राष्ट्रपति निस्कनले फोर्ट नोक्सलाई आफ्ना सबै भण्डारहरुको समाप्त गर्नका लागि अनुमति दिनुको साटो डलरलाई सुनबाट अलग गरिदिएका थिए । तबसम्म डलर विश्वको सबैभन्दा खास र सुरक्षित मुद्रा बनिसकेको थियो ।


चीन तथा रुसको रणनीति

एसियाको निक्केइ रिभ्यूको रिपोर्ट अनुसार रुसको केन्द्रीय बैंक तथा फडलर कस्टम सेवाका माध्यमबाट जारी गरेको अहिलेको आँकडा अनुसार वित्तीय वर्ष २०२० को पहिलो त्रैमासनमा रुस र चीनबीच व्यापारमा डलरको हिस्सेदारी पहिलेको तुलनामा ५० प्रतिशत तल झरेको छ ।

रुस तथा चीनबीच ४६ प्रतिशत व्यापारमा डलरको प्रयोग गरिएको थियो । यसैबीच दुई देशको व्यापारमा युरोको हिस्सेदारी बढेर अहिलेसम्मकै सबैभन्दा धेरे ३० प्रतिशत पुगेको थियो । जबकी दुई देशबीच आफ्नो मुद्रामा २५ प्रतिशत व्यापार भएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हिस्सेदारी हो ।

पछिल्लो कैयन वर्षमा रुस र चीनले द्विपक्षीय व्यापारमा डलरको प्रयोग प्रभावकारी रुपमा कम गरेका छन् । सन् २०१५ मा दुई देशबीच भएको ९० प्रतिशत व्यापारमा डलरको प्रयोग भएको थियो ।

तर अमेरिका र चीनबीच शुरु भएको व्यापार युद्धपछि खासगरी डलरमा व्यापार कम गर्ने प्रयास स्वरुप रुस र चीनले समझदार तरिकाले नयाँ नीतिका आधारमा सन् २०१९ मा दुई देशबीचको व्यापारमा ५१ प्रतिशत मात्रै डलरको प्रयोग गरेका छन् ।

रसियन एकेडेमी अफ साइसेजमा इन्स्टिच्युट अफ फार इस्टर्न स्टडिजका निर्देशक अलेक्से मसलोवले निक्की एसियन रिभ्यूलाई बताए अनुसार रुस र चीनले डलरमा हुने व्यापारलाई विस्तारै समाप्त पार्दै लगेका छन् । यस क्रममा उनीहरुले दुई देशबीच गठबन्धनमा परिवर्तन गरेका छन् ।

अलेक्से मसलोवका अनुसार वित्तीय क्षेत्रमा रुस र चीनका बीच सहयोग हेर्दा दुई देश एक अर्कासँगै नयाँ गठबन्धनका लागि एक नयाँ मापदण्ड तय गरिरहेका छन् ।

‘कैयन मानिसहरुको अनुमान थियो कि यो कुनै सैन्य गठबन्धन वा व्यापारिक गठबन्धन हुनेछ । तर अब यो बैंकिङ तथा वित्तीय गठबन्धनको दिशातर्फ गइरहेको छ । र, यी दुबै देश आफ्नो निर्णय लिनु भनेको स्वतन्त्रतालाई पनि सुनिश्चित गर्नु हो,’ उनले भने ।

रुस तथा चीनका लागि सन् २०१४ देखि नै व्यापारमा डलरको प्रयोग कम गर्ने योजना प्राथमिकतामा छ । क्राइमियामा रुसको कब्जापछि पश्चिमी देशमा उसको सम्बन्ध खराब बनेको छ ।

साथै त्यसबेलादेखि नै रुस र चीनले आर्थिक सहयोग बढाउन शुरु गरेका थिए । रुसमाथि अमेरिकाको प्रतिबन्धपछि व्यापारमा डलरको प्रयोग समाप्त पार्न यी देशका लागि जरुरी भएको थियो ।

रुसका लागि आईएनजी बैंकका मुख्य अर्थशास्त्री डिमित्री डोलगिनले भने, ‘विश्वमा कतै पनि अनलाइन पैसाको लेनदेन हुन्छ भने त्यसमा डलरको प्रयोग हुन्छ । यस्तो अवस्थामा कुनै न कुनै रुपमा एक अमेरिकी बैंकले नै त्यसका लागि अनुमति दिन्छ । यसको अर्थ के हो भने अमेरिकी सरकारले केही लेनदेन रोक्नका लागि बैंकलाई आदेश दिन सक्छ ।’

अमेरिकी डलर सूचकांक, जुन विश्वको अन्य बलियो मुद्राको तुलनामा उसको मूल्यको आँकलन हुन्छ । गत मे र मार्च महिनाको हिसाबमा ९ प्रतिशतसम्म गिरावट देखिएको छ । र, यो सन् २०११ पछि सबैभन्दा खराब अवस्थामा पुग्न लागेको छ ।

डलरमाथि दबाब यसकारण पनि बढिरहेको छ कि अन्य अर्थव्यवस्थाको तुलनामा कोरोना महामारीको असर अमेरिकी अर्थव्यवस्थामा धेरै हुनेछ ।

वैश्विक अर्थव्यवस्थामा डलरको केन्द्रीय भूमिकाका कारण डलर लगातार लेन–देन बजारमा उछाल ल्याउन सक्छ । त्यसैले यो आशामा विश्वभरका केन्द्रीय बैंक तथा सरकारहरु लगातार आर्थिक राहत प्याकेज ल्याइरहेका छन् । तर यदी डलरमा अझ धेरै गिरावट आयो भने यो युरोप तथा जापानका लागि नराम्रो समाचार हुनेछ ।

पछिल्लो २ वर्षमा डलरको मूल्यमा वृद्धि देखिएको थियो । तर यो समयमा अघिल्लो वर्षको तुलनामा अब डलरको मूल्य ३ प्रतिशतले कमजोर भएको छ । सन् २०१७ मा डलरमा १० प्रतिशतको गिरावट आएको थियो । डलरको मूल्यमा कमी आउँदा अमरिकी निर्यातलाई फाइदा हुन्छ ।

यसले अमेरिकी बहुराष्ट्रिय कम्पनीलाई आफ्नो नाफालाई आफ्नो घरेलू मुद्रा डलरमा परिर्वतन गरी लैजान सहयोगी हुनेछ । यो अमेरिकी सेयर बजारमा वृद्धि गर्नका लागि राम्रो समाचार हुनेछ ।

अमेरिकाको इन्भेस्टमेन्ट बैंकिङ तथा वित्तीय सेवाको बहुराष्ट्रिय कम्पनी गोल्डम्यानले आफ्नो एक रिपोर्टमा भनेको छ कि एतिहासिकरुपमा एस एन्ड पी ५०० सूचकांक (अमेरिकी सेयर बजार सूचकांक जुन अमेरिकी सेयर बजारमा सूचिकृत भएका ५०० कम्पनीको अवस्थालाई जनाउँछ) ले २.६ प्रतिशतको रिटर्न दिएको छ । साथै डलरको मूल्य तीव्र गतिमा तल झरेको अवस्थामा टेक्नोलोजी र उर्जा क्षेत्रका कम्पनी राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

गोल्डम्यानका अनुसार डलरमा १० प्रतिशतको गिरावटका कारण सन् २०२० मा आम्दानीमा प्रत्येक सेयर ३ प्रतिशतसम्म बढोत्तरी हुन सक्नेछ । गोल्डम्यानका विश्लेषकहरु आगामी १२ महिनामा डलरको मूल्य अझै ५ प्रतिशतसम्म गिरावट आउन सक्छ ।

तर कमजोर भइरहेको डलरबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सायदै कुनै राजनीतिक लाभ हुन सक्छ । आगामी नोभेम्बर महिनामा त्यहाँ राष्ट्रपतिको निर्वाचन छ । ट्रम्पले सधैभरी डलरको मूल्य धेरै हुँदा अमेरिकी उत्पादक तथा निर्माताहरुले नोक्सानी बेहोरिरहेको गुनासो गरिरहेका छन् ।

ड्युच बैंकका मूख्य अन्तर्राष्ट्रिय रणनीतिककार एलन रस्किनका अनुसार डलरको मूल्यमा भएको गिरावटको लाभ औद्योगिक क्षेत्रसम्म पुग्न कम्तीमा एक वर्ष लाग्नेछ र यसको फाइदा आगामी नोभेम्बरमा हुने निर्वाचनमा राष्ट्रपति ट्रम्पलाई हुने अवस्था देखिन्न ।

साभार ः बीबीसी हिन्दी