बैंकमा कर्जाको माग बढ्यो, साउनयता ११ अर्ब कर्जा प्रवाह



काठमाडौं । साउन लागेसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । लकडाउन भएसँगै सुस्ताएको कर्जा प्रवाह साउनयता ११ अर्ब रुपैयाँले बढेको हो ।

सरकारले गरेको लकडाउन अवधिमा वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपनि कर्जाको माग भने घटेको थियो ।

जसकारण बैंकहरुमा उल्लेख्यरुपमा लगानीयोग्य रकम थुप्रिएको छ । राष्ट्र बैंकको अनुसार हाल बैंकिङ प्रणालीमा २ खर्ब २ अर्ब रुपैयाँ अधिक तरलता छ ।

लकडाउन खुल्ला भएसँगै बैंकहरुले विभिन्न कर्जाका नयाँ रणनीति अबलम्बन गरे । जसकारण साउनको पहिलेको तुलनामा घटेको कर्जा बिस्तार दास्रो सातामा बढेको छ ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार साउन पहिलो साता २८ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउनको दास्रो साता १ अर्ब रुपैयाँले घटेर २८ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको थियो ।

तर साउनको तेस्रो साता बैंकहरुले ५ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह बढाएका छन् । साउन २३ गतेसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले सो अवधिमा २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसैगरी, संघबाट उपलब्ध तथ्यांकअनुसार पहिलो साताको भन्दा साउन ३० गतेसम्म बैंकहरुले ११ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । सो अवधिमा २७ वाणिज्य बैंकले ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

साउनको पहिलो साताको तुलनामा बैंकहरुमा २३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन भएको छ । साउन ६ गतेसम्म बैंकहरुमा ३३ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।


क्लिकमान्डु