टिकटकको भारतीय कारोबार खरिद गर्न मुकेश अम्बानी इच्छुक



प्रयोगकर्ताका हिसाबले दोस्रो ठूलो बजार भारतमा टिकटकको कारोबार यतिबेला बन्द छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अगाडि १०६ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाउँदा टिकटक पनि परेको थियो ।

टिकटक भारतीय बजारमा फेरि प्रवेश गर्न चाहिरहेको छ । तर त्यो त्यति सजिलो भने छैन । त्यसैले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले यसको भारतीय कारोबारको हिस्सा बिक्री गर्ने योजना बनाएको छ ।

मिडिया रिपोर्टसका अनुसार बाइटडान्स कम्पनीले टिकटकको भारतीय कारोबार मुकेश अम्बानीको स्वामित्व भएको रिलायन्स इन्डस्ट्रिज लिमिटेडलाई बिक्री गर्न सक्नेछ । यसबीचमा दुई कम्पनीबीच जुलाईको अन्तिमतिरदेखि कुराकानी शुृरु भएको थियो ।

यद्यपि अहिलेसम्म कुनै सम्झौता भने भएको छैन । यसमा रिलायन्स, बाइटडान्स र टिकटकले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । भारतमा टिकटक सन् २०१९ मा १९ करोड पटक डाउनलोड भएको थियो । बाइटडान्स कम्पनीले सन् २०१९ मा भारतबाट ७० करोड रुपैयाँ कमाएको थियो ।

अहिले भारतसँगै अमेरिकाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै यसको प्रयोगमा प्रतिबन्ध लगाएका थिए । अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्यानडामा हुने टिकटकको कारोबारको हिस्सा माइक्रोसफ्ट कम्पनीले खरिद गर्न इच्छुक देखिएको छ ।

कम्पनीले अमेरिकाबाट गत वर्ष १० अर्ब ४० करोड रुपैयाँ रेभिन्यु प्राप्त गरेको थियो भने सबैभन्दा बढी चीनबाट गत वर्ष ४ हजार करोड रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म टिकटक विश्वभर २ सय करोड पटक डाउनलोड भएको छ भने विश्वभर ८० करोड सक्रिय प्रयोगकर्ता छन् । – एजेन्सी


क्लिकमान्डु