आधा कर्मचारीबाट सिफ्टमा काम गर्न सेबोनको निर्देशन



काठमाडौं । उपत्यकामा कोरोनाको संक्रमण बढेपछि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारसँग सम्बन्धित कारोबार गर्ने सबै निकाय तथा सम्पूर्ण संघ संस्थालाई आधा कर्मचारीबाट सिफ्टमा काम गराउन निर्देशन दिएको छ ।

बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्न सूचना जारी गर्दै ‘बोर्डबाट अनुमति प्राप्त धितोपत्र बजार तथा सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई’ त्यस्तो निर्देशन दिएको हो ।

मन्त्रिपरिषदको २६ गते बसेको बैठकको निर्णयलाई कार्यान्वयन गराउन बोर्डले आफू मातहतका सम्बन्धित सबै निकायलाई उक्त निर्देशन जारी गरेको छ ।

बोर्डको निर्देशन अनुसार अब नेपाल स्टक एक्सचेन्ज (नेप्से),सिडिएससी, मर्चेन्ट बैंकर्स, ब्रोकर कार्यालय लगायतका संघ संस्थाले आजै (२९ साउन गते) बाट आधा कर्मचारीबाट मात्रै कार्य सम्पादन गर्नुपर्ने छ । साथै बाँकी कर्मचारीलाई वर्क फर्म होम अर्थात घरबाट नै काम गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

यसैगरी बढी भिडभाड हुने तथा प्रत्यक्ष जनसम्पर्कमा आएर दिन सेवालाई अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गर्ने निर्देशन रहेको छ । साथै अधिकाशं कार्यपम्पादनलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न पनि प्राथमिकतामा राख्नु पर्ने छ ।


क्लिकमान्डु