फोन गरेर ऋण लिन बोलाउँदै बैंकहरु, कर्मचारीलाई टार्गेटको तनाब



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिएपछि यतिबेला संस्थाहरुले ग्राहकहरुलाई फोनै गरेर ऋण लिइदिन आग्रह गर्न थालेका छन् । कोरोना कालमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सुस्ताएको थियो । निक्षेप संकलनको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् ।

राष्ट्र बैंकका अनुसार यतिबेला बैंकिङ प्रणालीमा १ खर्ब ७९ अर्ब रुपैयाँ अधिक तरलता छ । कर्जाको माग सुस्ताएपछि ग्राहकलाई फोनै गरेर ऋण लिन बोलाउन थालेका हुन्् ।

गत चैत यता बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा प्रवाह निकै कम छ । कोरोना संक्रमण कालमा नयाँ लगानी गर्ने नहुँदा बैंकमा कर्जाको माग घटेको हो ।

बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले कर्जामा नयाँ रणनीति प्रयोग गरेका छन् । सस्तोदरमा विभिन्न सुविधा सहितकका कर्जा योजना (स्किम) बैंकहरुले सार्वजनिक गरिरहेका हुन्् । जसमा बैंकहरुले सस्तो र निश्चित ब्याजदरमा निश्चित अवधिका लागि घर÷जग्गा, सवारी कर्जा विभिन्न सुविधा सहित दिने घोषणा गरिरहेका छन् ।

स्किममा कर्मचारीलाई अतिरिक्त टार्गेटको टेन्सन
बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले व्यापारी, व्यवसायी तथा सेयर ब्रोकर कार्यालय र ठूला लगानीकर्तालाई फोन गरी ऋण लिन आग्रह गर्न थालेका हुन् । बैंकका शाखा प्रबन्धकलाई केन्द्रले दिएको कर्जाको टार्गेट पूरा गर्नुपर्ने बाध्यता हुन्छ ।

पछिल्लो समय बैंकहरुले सार्वजनिक गरेका स्मिकले ग्राहकलाई सस्तो ब्याजदरमा सवारी, घर÷जग्गा कर्जा लिन सहयोग त भएको छ । तर बैंकका कर्मचारीलाई भने अतिरिक्त लोनको टार्गेट थपिएको छ ।

प्रायः बैंकका शाखाले अघिल्लो आर्थिक वर्षको तुलनामा २० दखि २५ प्रतिशतसम्म व्यवसाय बढाउन टार्गेट पाएका हुन्छन् । अहिले शाखा प्रमुखहरुलाई वार्षिक बढाउनुपर्ने व्यवसायको टार्गेटसँग स्मिक लोनको समेत अतिरिक्त भार थपिएको एक बैंकका शाखा प्रबन्धकले बताए ।

‘क्षेत्रअनुसारको विजनेश र शाखाको क्षमता हेरी एक शाखा बराबर न्यूनतम ५ देखि २० करोड रुपैयाँसम्म स्किम लोन सेटलमेन्टको टार्गेट ब्राञ्च म्यानेजरलाई छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘ब्राञ्च म्यानेजरले पाएको टार्गेट मातहतका अरु कर्मचारीलाई पनि दिइन्छ वा केन्द्रले नै कर्मचारी अनुसार १ देखि २ करोड रुपैयाँ सम्मको टार्गेट दिएको छ ।’

टार्गेट पूरा नगरेमा बैंकको उच्च व्यवस्थापनले दबाब दिने कर्मचारीको क्षमतामा प्रश्न उठाउने र टार्गेट पुरा गरे नयाँ दिनेसम्म गरिरहेको ती उनले बताए ।

जसकारण प्रायजसो शाखा प्रबन्धक वा शाखाको कर्जा प्रमुखको पहिलो काम व्यापारी, व्यवसायी तथा सेयर ब्रोकर कार्यालयमा फोन गर्नु नै रहेको एक बैंकका शाखा प्रबन्धकले बताए ।

‘लोनको डिमाण्ड नै छैन्, बैंकमा थुप्रिएको पैसा सेटलमेन्ट गर्ने सबै शाखाले टार्गेट पाएका छन्,’ उनले भने, ‘कोरोनाले गर्दा लोन लिने ग्राहक पाउनै गाह्रो छ, केन्द्रबाट सधै दबाब आउँछ ।’

जसकारण अहिले बैंकका कर्मचारी सधै मानसिक तनाबमा हुने उनले गुनासो गरे । जस कारण पुराना ऋणको क्षमता मुल्यांकन गर्दै कर्जा लिन फोन गर्न थालेको उनले बताए ।

आवश्यक भएकालाई भन्दा नभएका ग्राहकलाई कर्जा दिन खोज्दै बैंकहरु
साउन लागेपछि मात्र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाललाई यसरी धेरै जना बैंकरले कर्जा लिइदिन आग्रह गरिसकेका छन् ।

‘मैले कारोबार गर्ने बैंकले धेरै पटक फोन गरेर विभिन्न प्रकारका स्किममा सुविधा ब्याज छुट सहित कर्जा लिनुस् भनिरहेका छन्,’ उपाध्यक्ष अग्रवालले भने, ‘पुरानो कर्जाको ब्याजमा भने घटेको ब्याजपनि कायम गरेका छैनन् तर नयाँ कर्जा लिन आउ भनेर विभिन्न प्रलोभन बैंकहरुले देखाउँछन् ।’

ठूला परिमाणको भन्दा साना परिमाणको कर्जा तथा स्मिकमा सवारी, घर÷जग्गा कर्जा लिन बैंकहरुले फोन गरेरै बोलाएको भएपनि आफूलाई नचाहिने जवाफ दिएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ४० हजारभन्दा बढी साना तथा मझौला व्यापारी तथा व्यवसायी छन् । ती व्यवसायीमध्ये अधिकांसलाई पुन व्यवसाय सञ्चालन गर्न बैंकबाट वित्तीय सहयोगको आवश्यकता भएको राष्ट्रिय व्यवसायी महासघका अध्यक्ष नरेन्द्र कट्वालले बताए ।

‘कोरोनाले गर्दा व्यवसाय पुनः शुरु गर्न थप पुँजीको आवश्यक प्राय व्यवसायीलाई छ,’ अध्यक्ष कट्वालले भने, ‘तर बैंकका कर्जा माग्न जाँदा काठमाडौंमा नै घरभएकालाई मात्र दिन्छु भन्छ यही घर भएका व्यवसायीलाई त्यस्ता कर्जाको आवश्यकता नै हुँदैन ।’

काठमाडौंमा व्यापार व्यवसाय गर्नेमध्ये करिब ९० प्रतिशत भ्याली बाहिरका भएका र उनीहरुलाई बैंकले स्किमको कर्जा वा राष्ट्र बैंकले दिएको राहत तथा सहुलियतको कर्जा केही पनि नदिएको उनले गुनासो गरे ।

साउनयता साना परिमाणका कर्जामा ४ अर्ब प्रवाह
साउन २३ गतेसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

चैतदेखि बैंकहरुमा कर्जा लगानी घट्दो थियो । तर साउन लगेसँगै वाणिज्य बैंकहरुमा कर्जाको माग बढेको छ । यसबीचमा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाहित कर्जामा अधिकांश व्यक्तिगत प्रयोजनमा प्रवाह भएको बैंकर्स संघका कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा बताए ।

‘ठूलो लोनको डिमाण्ड अहिले छैन, ठूला उद्योग, व्यवसाय तथा ठुला व्यापारी सामान्य अवस्थाको पर्खाइमा छन्,’ सीईओ शर्माले क्लिमाण्डूसँग भने, ‘पछिल्लो समय प्राय बैंकहरुले सवारी, घर जग्गा लगायत व्यक्तिगत प्रयोजनका ५० लाख सम्मको कर्जामात्र प्रवाह गर्न सकेका छन् ।’

कर्जाको स्किम सार्वजनिक गरेका प्रायः बैंकहरुले सोही अन्तर्गतका राखेका हुँदा सवारी, घर जग्गा र सेयर मार्जिन कर्जालाई पहिलो प्राथमितामा राखेर कर्जा दिएका उनको भनाइ छ ।

साउन लागेसँगै यस्ताप्रकारका कर्जाको स्किम धेरैजसो बैंकहरुले ल्याएका छन् । जसकारण अघिल्ला महिनामा घटीरहेको कर्जा प्रवा साउनयता बढेको देखिन्छ ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार साउनको पहिलो साता बैंकहरुले ३४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २८ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै, साउन दोस्रो साताको भन्दा निक्षेप संकलन भने घटेको छ । साउन १६ गतेसम्म ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन २३ गतेसम्म बैंकहरुमा ११ अर्ब रुपैयाँले घटेर ३४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।
साउन २३ गतेसम्म बैंकहरुले ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

सेयर ब्रोकरलाई ऋणी पठाउन दैनिक बैंकको फोन
ठूला ऋणीहरुले बैंकमा कर्जाको माग नगरेपछि बैंकका कर्मचारी दिनहुँ जसो सेयर ब्रोकर कार्यालयमा फोन गर्न थालेका छन् । सेयर धितोमा कर्जा लिने व्यक्ति भए बैंक पठाइदिन हरेक बैंकको फोन आएको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।

‘हरेक दिन कोही वाणिज्य बैंकका शाखा प्रमुखहरुको फोन आउन थालेको छ,’ अध्यक्ष रानाभाटले क्लिकमाण्डूसँग भने, ‘पहिला विकास बैंकहरुले यसरी फोन गरेर कर्जा लिन मान्छे पठाइदिनु भन्थे तर आजभोलि वाणिज्य बैंकहरुले बढी फोन गर्न थालेका छन् ।’

सेयर बजार बढेको र राष्ट्र बैंकले सेयर धितोको सीमा बढाएको हुँदा पनि लगानीकर्ता ऋण गरेरै सेयर बजारमा लगानी गर्न चाहने अनुमानमा बैंकहरुले फोन गरेको उनले बताए ।

चालु आवको मौद्रिक नीतिमार्फत् राष्ट्र सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको छ ।

पछिल्लो समय बैंकहरुले प्रवाह गरेको कर्जामध्ये करिब ९० प्रतिशत कर्जा सेयर धितो कर्जा रहेको ब्रोकर नम्बर ४६ का नरेन्द्र सिजापतीको भनाइ छ ।

‘हरेक बैंकले कर्जा लिने व्यक्ति पठाइ दिनु भन्दै फोन गर्छन्,’ सिजापतिले क्लिकमाण्डूसँग भने, ‘अहिले दिनहुँ बजार बढेको हुँदा धेरै लगानीकर्ता पनि ऋण लिएर नै लगानी गर्न थालेका छन् ।’

नयाँभन्दा पुराना लगानीकर्ता बैकबाट कर्जा लिएर लगानी गर्न बढी भएको हुँदा उनीहरुलाई ब्रोकर कार्यालय पनि सहयोग गरेको उनले जानकारी दिए ।

‘हाम्रो ग्यारेन्टीमा बैंकबाट कर्जा लिँदा बैंकले ब्याजमा पनि केही प्रतिशत छुट दिन्छ,’ उनले भने, ‘सिधै बैंकबाट भन्दा ब्रोकर कार्यालयमार्फत् जानेले ०.५ प्रतिशतसम्म ब्याजमा छुट पाइरहेका छन् ।’

बैंकले ब्रोकरको ग्यारेन्टीमा कर्जा दिँदा भुक्तानीको सुनिश्चता बढी हुने र लगानीकर्ताले कर्जा लिएर सेयर कारोबार गर्दा कमिसन बढ्ने उनको भनाइ छ ।


क्लिकमान्डु